
१६ माघ , काठमाडौं । सरकारले पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी गरेको छ । सरकारले उक्त उमेर समूहका बालबालिकाले लगाउन मिल्ने थप फाइजर खोप खरिद प्रक्रियासमेत अगाडि बढाएको हो ।
कोरोना संक्रमणको उच्च जोखिममा बालबालिका पनि पर्ने भएकाले सरकारले ११ वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै फाइजर खोप ल्याउन प्रक्रिया सुरु गरिएको हो । हाल ११ देखि १८ वर्षसम्मका बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाइँदैछ ।

पाँच वर्षभन्दा माथिका बालबालिका पनि विद्यालय जाने र त्यहाँ भीडभाड हुने हुनाले कोरोना सङ्क्रमणको उच्च जोखिममा छन् । पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई लक्षित गरेर फाइजर खोप ल्याउन सरकारले प्रक्रिया सुरु गरिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा। रोशन पोखरेलले बताए ।
स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाका अनुसार दुई–तीन महिनाभित्रै पाँचदेखि ११ वर्षसम्मका बालबालिकाका लागि फाइजर खोप ल्याउन गृहकार्य भइरहेको छ ।
नेपालमा १२ वर्षदेखि १८ वर्षसम्मका बालबालिकाका लागि खरिद गर्न लागिएको ६० लाख फाइजर खोप अब पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई लगाउन मिल्ने गरी ल्याउन लागिएको हो । उमेर १८ वर्षसम्मका बालबालिकालाई लगाउने भनिएको फाइजर खोपको सट्टा मोडर्ना खोप आएकाले त्यसरी प्रतिस्थापन गर्न लागिएको हो ।



