
माघ १८, एजेन्सी । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले क्षेप्यास्त्रबाट खिचिएका तस्बिरहरू सार्वजनिक गरेको छ । ती तस्बिर सन् २०१७ यताकै सबैभन्दा ठूलो ठानिएको क्षेप्यास्त्र प्रक्षेपण गर्दा खिचिएको जनाइएको छ ।

मध्यम दूरीको ब्यालिस्टिक क्षेप्यास्त्र ह्वासोङ–१२ बाट खिचिएका तस्बिरमा कोरियाली द्वीप र वरपरका क्षेत्रहरू देखिएका छन् । जापानी सागरमा अवतरण गर्नुअघि त्यो क्षेप्यास्त्र जमिनबाट दुई हजार किलोमिटर माथिसम्म पुगेको थियो ।

जनवरी महिनामा मात्रै उत्तर कोरियाले सात पटक क्षेप्यास्त्र परीक्षण गरिसकेको छ । सोमबार सार्वजनिक गरिएका तस्बिरहरू क्षेप्यास्त्रमा जडित क्यामराबाट खिचिएको उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनएले जनाएको छ ।

उत्तर कोरियाली नेता किम जोङ–उनले कोरियाली द्वीपमा आफ्नो ‘देशको प्रतिरक्षा क्षमता सुदृढ पार्ने र त्यसका लागि तयारी भइरहेको’ बताउँदै आएका छन् । क्षेप्यास्त्रको क्षमता विकसित गर्न, अवस्था परीक्षण गर्न र तयारी अवस्थामा राख्न पनि उत्तर कोरियाले पछिल्लो समय परीक्षणलाई तीव्रता दिएको छ । अमेरिकाका एक वरिष्ठ अधिकारीले उत्तर कोरियालाई पूर्वसर्तबिना परमाणु तथा क्षेप्यास्त्र परीक्षणबारे वार्तामा सहभागी हुन आग्रह गरेका जनाइएको छ ।
समाचार संस्था रोयटर्ससँग ती अधिकारीले भनेका छन्, ‘हामीलाई लाग्छ, केही गम्भीर छलफल गर्न आवश्यक छ ।’ अमेरिकी राष्ट्रपतिमा जो बाइडेन आएसँगै भने दुई देशबीचको वार्ता अवरुद्ध छ । यो कान्तिपुर दैनिकमा छ ।


