१९ माघ , काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै जनकपुरधाममा प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन गरिएको छ ।
नेकपा एमालेसम्बद्ध राष्ट्रिय युवा संघ र अनेरास्ववियुले संयुक्त रूपमा प्रदर्शन गर्दै प्रधानमन्त्री देउवाको पुतला दहन गरेका हुन् । युवा तथा विद्यार्थीहरूले जनकपुरधामको शिव चोकमा प्रदर्शन गरेका छन् । त्यसक्रममा प्रहरीसँग केहीबेर धकेलाधकेल पनि भएको थियो ।
अहिलेसम्मकै उच्च मूल्यवृद्धि गरी सरकारले जनतालाई पीडा दिने काम मात्र गरेको उनीहरूले आरोप लगाए ।
सरकारले मंगलबार राति १२ बजेदेखि प्रतिलिटर पेट्रोल, डिजल र मट्टीतेलमा ३–३ रुपैयाँ बढाएको थियो । अब प्रतिलिटर पेट्रोल १ सय ४२, डिजेल र मट्टीतेल १ सय २५ रुपैयाँ पुगेको छ । त्यस्तै, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरी ११६ रुपैयाँ कायम गरिएको छ । सरकार दुई साताभित्र दुई पटक पेट्रोलियमको मूल्यवृद्धि गरेको हो ।


