२४ माघ , काठमाडौं । गत कात्तिक २८ गते रोल्पाको माडी गाउँपालिका–१ घर्तीगाउँमा भएको जीप दुर्घटनामा एक महिलासहित तीन जनाको ज्यान गयो । दुर्घटना घर्तीगाउँ बजार नजिक शहीदमार्गमा भएको थियो । दुर्घटनामा परी मृत्यु हुने सबै एउटै गाउँका थिए । घटनामा तीन गम्भीर घाइते भए ।
गत मङ्सिर १ गते माडी गाउँपालिका–४ तार्केवाङमा भएको बस दुर्घटनामा एक महिलासहित चार जनाको ज्यान गयो । दुर्घटनामा १८ जना घाइते भए । दाङ घोराहीबाट रोल्पाको थवाङ आउँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस माडी गाँउपालिका–४ तार्केबाङ शहीदमार्गमा दुर्घटना भएको थियो । बस शहीदमार्गबाट २०० मिटर तल खोलामा खसेको छ । जलजला दर्शनका लागि सो बस बुकिङ गरिएको थियो ।
यस्तै गत पुस १८ गते रोल्पा नगरपालिका–९ ह्वामा गर्पामा अटोरिक्सा दुर्घटना भयो । दुर्घटनामा चालकको मृत्यु भयो । रोल्पामा सडक दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ मा रोल्पामा १४ सवारीसाधन दुर्घटनामा परे । दुर्घटनामा तीन महिलासहित १५ जनाले ज्यान गुमाए । दुर्घटनामा १५ महिला, ११ पुरुष र नौ बालबालिका घाइते भए ।
यस्तै आव २०७६/७७ मा जिल्लामा २४ सवारीसाधन दुर्घटना भए । दुर्घटनामा परी दुई महिला, १० पुरुष र एक नाबालिकाको ज्यान गयो । दुर्घटनामा पाँच महिला, १९ पुरुष र ६ बालक घाइते भए । आव २०७५/७६ मा २६ सवारीसाधन दुर्घटना भए । दुर्घटनामा एक महिला, १० पुरुष र चार बालबालिकाको ज्यान गयो । दुर्घटनामा २३ महिला, २५ पुरुष र नौ बालबालिका घाइते भए ।
जिल्लामा पक्की सडक ५८ किलोमिटर मात्रै छ । जिल्लाका अन्य सबै सडक कच्ची छन् । अधिकांश सडक मापदण्ड विपरीत छन् । साँघुरो मोड, मापदण्डभन्दा बढी उकालोओरालो भएका सडकमा दुर्घटना बढी हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रञ्जित आचार्यको भनाइ छ ।


