०७ फागुन , काठमाडौं । नेपाललाई लिएर विश्वका दुई ठूला महाशक्ति राष्ट्र अमेरिका र चीनबीच वाकयुद्ध सुरु भएको छ । सन् २०१७ मा नेपाल र अमेरिकाबीच भएको ५० करोड डलरको विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कारण चीन र अमेरिकाबीच वाकयुद्ध सुरु भएको हो ।
यसको सुरुवात गत माघ २७ गते भएको हो । एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने विषयमा नेपालका सत्तारुढ दलहरुबीच मतभेद बढिरहेका बेला सो दिन अमेरिकी सहायक विदेशमन्त्री डोनाल्डु लुले नेपालका ठूला तीन दलका तीन शिर्ष नेतालाई फोन गरेका थिए ।
लुले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेका थिए ।
फोनमा तीनै जना नेतासँग अमेरिकी विदेशमन्त्री लुले स्पष्ट भनेका थिए, ‘एमसीसी अनुमोदन गर्ने तपाईँहरुको कुरा हो । तपाईँहरुले दिएको समयसीमा भित्र अनुमोदन हुनेमा हामी विश्वस्त छौं । हामी अब एमसीसीको समय थप गर्ने पक्षमा छैनौं । यदि एमसीसी अनुमोदन भएन भने हामी नेपालसँगको सम्बन्ध पुर्नविचार गर्नेसम्म पुग्नसक्छौं र चीनको दबाबका कारण यो अनुमोदन हुन सकेन भनेर बुझ्नेछौं ।’
अमेरिकी विदेशमन्त्रीको ठाडो चेतावनीपछि नेपालको राजनीतिक वृत्तमा हल्लिखल्ली मच्चियो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यस्तो चेतावनीले नेपाल र अमेरिकाबीचको सम्बन्ध बिग्रने र यसले अमेरिकाको समेत हित नगर्ने भनी प्रतिक्रिया जनाए ।
अमेरिकाले पहिला ‘फायर’ खोलेपछि त्यसको जवाफ चीनले पनि दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवत्ता वाङ वेनबिनले शुक्रबार बेइजिङमा आयोजना गरिएको पत्रकार सम्मेन मार्फत जवाफ दिएका हुन् । उनले अमेरिकी सहायक विदेशमन्त्रीले नेपालका नेतालाई दिएको चेतावनीलाई ‘धम्कीपूर्ण कूटनीति’ बताए । उनले चीन ‘धम्कीपूर्ण कूटनीति’को पक्षमा नरहेको समेत स्पष्ट पारे ।
अमेरिकाले यही फेब्रुअरी २८ भित्र एमसीसी संसदबाट अनुमोदन गर्न नेपाललाई दबाब दिएको छ, यसमा चीनको धारणा के होरु भनि पत्रकारले सोधेको प्रश्नमा उनले अमेरिकी क्रियाकलापलाई ‘धम्कीपूर्ण कूटनीतिक’ को संज्ञा दिएका हुन् । राजधानी दैनिकबाट



