Comments Add Comment

Advertisment

SKIP THIS

१५ करोड लगानीमा ग्याबिन वायर उद्योग

२१ फागुन , काठमाडौं । सुर्खेत कर्णाली प्रदेशमै पहिलोपल्ट ग्याविन वायर उद्योग सञ्चालनमा ल्याइएको छ । वीरेन्द्रनगर नगरपालिका–१२ औद्योगिक क्षेत्रमा झन्डै १५ करोड लागतमा स्थापना गरिएको उद्योगको कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले उद्घाटन गरे ।

व्यवसायी पञ्चरत्न शर्मा, श्यामप्रकाश सापकोटा, दुर्गाप्रसाद रेग्मी र सिद्धिखर रेग्मीले सुरक्षा ग्याविन वायर इन्डस्ट्रिज प्रालि सञ्चालनमा ल्याएको हुन् । चीनबाट खरिद गरेर ल्याइएको मेसिनले सुर्खेतमै ग्याविन तारजाली उत्पादन गर्न सकिने उद्योगका अध्यक्ष सिद्धिखर रेग्मीले बताए । उनका अनुसार मेसिनबाट दैनिक ९ हजार ६ सय वर्गमिटर ग्याविन बक्स र २ हजार किलोग्राम चेनलिंक (घेरबार जाली) उत्पादन गर्न सकिन्छ । ३ रोपनी क्षेत्रफलमा फैलिएको उद्योगले ४० जनालाई रोजगारी दिएको उनले जानकारी दिए ।

यसअघि ग्याविन तारजाली बाहिरबाट ल्याउनुपर्ने बाध्यता थियो । ‘सुर्खेतमै उद्योग सञ्चालन भएपछि सस्तो दरमा तारजाली पाइने र ढुवानी खर्च बच्ने देखिन्छ,’ अध्यक्ष रेग्मीले भने, ‘अरु प्रदेशमा पनि तारजाली पठाउने गरी उत्पादन सुरु गरेका हौं ।’ उद्योगले अहिले २२ प्रकारका साइजमा ग्याविन तारजाली उत्पादन गर्दै आएको छ ।

मुख्यमन्त्री शाहीले निजी क्षेत्रलाई सक्षम बनाउन प्रदेश सरकारले सहयोग गर्ने बताए । ‘निजी क्षेत्र सक्षम नभएसम्म अन्य क्षेत्रको विकासको परिकल्पना गर्न सकिन्न,’ उनले भने, ‘उद्योगी र उद्यमीहहरूको विकास गर्नमा सरकार सदैव तत्पर रहन्छ ।’

सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले कर्णालीमा ठूला लगानीका उद्योग खोलेर रोजगारीको सिर्जना गर्न आवश्यक रहेको बताए । ‘अब रोजगारीकै लागि भारतका विभिन्न ठाउँमा जान आवश्यक छैन,’ उनले भने, ‘कर्णालीका १० ठूला व्यापारीले १र१ वटा ठूला उद्योग सञ्चालन गरे कर्णालीका आधा युवाले यतै रोजगारी पाउँछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै