२३ फागुन , काठमाडौ । गत १३ फागुनमा एमसीसीविरुद्ध काठमाडौंको बिजुलीबजार क्षेत्रमा भएको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका डडेलधुराका २७ वर्षीय हेमराज अवस्थी उपचारपछि ललितपुरस्थित टीकाथली आफ्नै डेरामा फर्किएका छन्
उनको स्वास्थ्यमा धेरै सुधार आइ आज हस्पिटलबाट डिस्चार्ज भएको अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टीच्युट एण्ड एलाईड साइन्सले विज्ञप्ति निकालेर जानकारी दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीले News24galaxy लाई बताए ।
शल्यक्रियाको क्रममा घाइते अवस्थीलाई तीन पाउन्ड ‘ओ’ नेगेटिभ रगत आवश्यक परेको थियो । जसमध्ये एक पाउन्ड रगत प्रहरीजवान समीनाथ यादवले दिएका थिए ।
डडेलधुराको नवदुर्गा गाउँपालिका घर भई ललितपुरस्थित टीकाथली बस्दै आएका हेमराज बानेश्वरको प्रदर्शनमा आन्दोलनकारीले प्रहरीलाई हानेको ढुंगाले उनलाई लागेर घाइते भएका थिए । नेपाल प्रहरीकै सहयोगमा उनलाई एभरेष्ट नर्सिङ होमबाट ट्रमा सेन्टर हुँदै माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भएको थियो । घाइते अवस्थीको टाउकोको दुईवटा अपरेशन भएको थियो ।


