२४ फागुन , काठमाडौ । काठमाडौंको नागार्जुन नगरपालिका–६ रामकोटस्थित डाँडापौवामा सोमबार राति एकै परिवारका ५ जना बेहोस अवस्थामा भेटिएका छन् । पाँच जनामध्ये १ जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
विष पिएको परिवारका ५ जनामध्ये ४ जनाको गम्भीर अवस्थमा उपचार भइरहेको छ । ६२ वर्षीया इन्दिरामाया प्रधानसहित विष पिएका ४ जनाको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको हो ।
३३ वर्षीय सुवर्णमान प्रधानको गएराति नै मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीका अनुसार भेन्टिलेटरमा उपचार गराइरहेको चार जना बोल्न सक्ने अवस्थामा छैनन् ।
इन्दिरामाया प्रधानसहित ३८ वर्षका भिम प्रधान, ३५ वर्षीया मन्दिरा डंगोल र ११ वर्षीया सुप्रेणा प्रधानको अवस्था गम्भीर रहेको एसपी मैनालीले जानकारी दिए । डाडाँपौवास्थित डा। उद्धव पुरीको घरमा उनीहरु डेरामा बस्थे । डेरामा विषका बट्टाहरू र पानीको बोतलमा घोलेर बाँकी रहेको विष फेला परेको हो ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार उनीहरुले विष पिउनुअघि लेखेको नोट भेटिएको छ । नोटमा उनीहरुले लेखेका छन्, ‘हामी संयुक्त रुपमा बिदा हुँदैछौँ ।’ सो परिवारले विषमा सिटामोल धुलो बनाएर जुसजस्तो घोल बनाएको भेटिएको छ । ४ वटा बोटलमा घोलेर पिएको बाँकी रहेको विष प्रहरीले अनुसन्धानका लागि संकलन गरेको छ ।
उनीहरु मध्ये केही मानसिक रोगको समस्यामा थिए । प्रहरीले घटनाको कारण आर्थिक समस्या हुनसक्ने आँकलन गरेको छ । तर, यकिन कारण खुल्न बाँकी रहेको एसपी मैनालीको भनाई छ ।
‘सवैले सल्लाह गरेर विष खाएको देखिन्छ,’ अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले भने, ‘लेनदेनको समस्याका कारण विष खाएको हुनसक्ने आँकलन गरेर सोही कोणबाट अनुसन्धान अघि बढाएका छौं ।’ घटनाबारे महानगरीय प्रहरी वृत्त स्वयम्भूले अनुसन्धान गरिरहेको छ ।


