६ चैत , काठमाडौ । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व राज्य सञ्चालनमा असफल भैसकेको बताएका छन् । सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिकाको शंखमूलमा निर्मित शंखपार्कको आज समुद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
पूर्व परराष्ट्र तथा ऊर्जा मन्त्री डा।महतले एमाले अध्यक्ष ओलीले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई एमालेको चुनाव चिन्हमा मतदान गरेर पुण्य कमाउन दिएको उपदेशको जवाफमा यस्तो बताएका हुन् ।
ओलीमा काम गर्ने नभइ ठट्टा गर्ने बानी रहेको उल्लेख गर्दै उनले भने, ‘राजनीति गर्ने मान्छेहरु देशको समृद्धि र जनताको सुख तथा सुविधालाई केन्द्रमा राख्ने हुनाले सधै गम्भीर हुन्छन् । तर उहाँले हास्य कलाकारको जस्तो हँसिमजाक बनाउनुभयो । शासन सत्ता सञ्चालन गर्न तपाई र तपाईँको पार्टी असफल भयो । ५ वर्षलाई दिएको जनादेश साढे ३ वर्ष पनि टिकाउन सक्नु भएन ।’
महतले ओलीले आफू प्रधानमन्त्री हुँदा प्राप्त गरेको झण्डै दुई तिहाइको समर्थन जोगाएर राख्न नसकेको, आफ्नै पार्टीलाई एकताबद्ध राख्न नसकेको र दुई तिहाईको समर्थन कायम रहँदा त्यसको दुरुपयोग गर्दै प्रतिनिधिसभा विघटन गरेकोले संविधानको रक्षा गर्न, देशमा कानूनी शासन बहाली गर्न, सुशासन कायम गर्न नेपाली कांग्रेस अग्रसर हुनुपरेको उल्लेख गरे ।
अघिल्लो चुनावमा निकै आकर्षक नारा दिएर जनतालाई झुक्याएर जिते पनि कम्युनिष्ट सरकारले जनताको हितमा काम गर्न नसकेको उनको जिकिर थियो ।
जनताका गुनासा सुन्न र नेपाली कांग्रेस पार्टी, यसको नेतृत्वमा बनेका तीन तहका सरकारहरुले गरेका कामको बारेमा सबै नागरिकलाई बुझाउन हरेक घर पुग्न जिल्लाका नेता तथा कार्यकर्तालाई उनले आग्रह गरे ।
चैत्र ११ गते बस्ने नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकमा स्थानीय निकायको निर्वाचनमा गठबन्धन गर्ने नगर्ने सम्बन्धमा पनि छलफल हुने बताउँदै भने, “गठबन्धन स्थानीय आवश्यकताका आधारमा पनि हुन सक्छ । के गर्दा हामी बढीभन्दा बढी सीट जित्न सक्छौ, गठबन्धन गर्दा बढी जितिन्छ भने त्यही हुन्छ, एक्लै जित्छौं भने एक्लै जाने होला तर कार्यकर्ताहरु भने यसमा नअल्मलिन आवश्यक छैन । जनताको बीचमा जाऔं कांग्रेसलाई मत दिने अवस्था सिर्जना गरौं, अहिलेको आवश्यकता त्यही हो ।”







