Comments Add Comment

Advertisment

SKIP THIS

एमाले र काँग्रेसले दुई थरी चुनावी घोषणापत्र बनाउने

११ चैत , काठमाडौं । नेकपा (एमाले) र नेपाली काँग्रेसले केन्द्रीय र स्थानीय दुवै तहबाट चुनावी घोषणापत्र जारी गर्ने भएका छन् ।

एमाले केन्द्रीय कमिटी बैठकले केन्द्रबाट चुनावी घोषणापत्र र स्थानीय तहले प्रतिबद्धता लिएर निर्वाचनमा होमिने निर्णय गरे लगत्तै काँग्रेसले पनि दुई थरी चुनावी घोषणापत्र जारी गर्न लागेको हो । एमाले केन्द्रीय कमिटी बैठकले “पार्टीको केन्द्रीय कमिटीका तर्फबाट वर्तमान राजनीतिक परिस्थिति, पार्टीका मुख्य नीतिहरू, आगामीमा कार्यदिशा तथा ‘समृद्ध नेपाल र सुखी नेपाली’को आकाङ्क्षा पूरा गर्न राष्ट्रिय स्तरमा भएका काम र स्थानीय विकास तथा समृद्धि सम्बन्धी हाम्रो परिकल्पना, कार्यक्रम र मार्गचित्र समेटेर घोषणापत्र सार्वजनिक गर्ने” निर्णय गरेको थियो ।

पार्टी केन्द्रीय कार्यालयबाट चुनावी घोषणा पत्र बनाउने जनाए पनि स्थानीय तहले अलग्गै प्रतिबद्धता बनाउनुपर्ने निर्णय पनि उक्त बैठकले गरिसकेको छ । केन्द्रीय घोषणापत्र निर्माण लागि एमालेले उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा युवराज ज्ञवाली, प्रदीप ज्ञवाली, विष्णु रिमाल, प्रभु साह, देवेन्द्र दाहाल, युवराज खतिवडा, प्रभा बराल, दिनेशचन्द्र देवकोटा, सुशील ज्ञवाली, मनोजजंग थापालगायतको घोषणापत्र मस्यौदा कार्यदल गठन गरेको छ ।

यसैगरी, काँग्रेसले चुनावी घोषणापत्र निर्माणका लागि महामन्त्री गगन थापालाई संयोजक तोकिसकेको छ । केन्द्रीय कार्यसम्पादन समितिको फागुन ३ गतेको निर्णय अनुसार सभापति शेरबहादुर देउवाले महामन्त्री थापालाई ‘स्थानीय तह निर्वाचन–२०७९ घोषणापत्र तयारी समिति’को संयोजक तोकेका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पार्टी प्रवक्ता प्रकाश शरण महतले केन्द्रमा तयारी समितिले घोषणापत्रका लागि काम गर्न सुरु गरे पनि स्थानीय तहलाई पनि आफ्नै अलग्गै घोषणापत्र बनाउन निर्देशन दिएको छ । “स्थानीय तहले पनि केन्द्रको नीति र कार्यक्रमसँग नबाझिने गरी आवश्यकता अनुसार अलग्गै चुनावी घोषणापत्र बनाउन निर्देशन दिइसकेका छौँ” प्रवक्ता महतले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै