२६ चैत , काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता कार्यकर्ताहरुलाई निर्वाचन आचारसंहिताको पूर्ण रुपमा पालना गर्न आग्रह गरेका छन् ।
आज काठमाडौँमा एक कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले कानुन मान्ने, कानुनमा विश्वास राख्ने पार्टी भएकाले आचारसंहिता पूर्ण रुपले पालना गर्न प्रतिवद्ध रहेको जनाए । तर जे गर्दा पनि सहने चाँहि नहुने ओलीको भनाइ छ । जे गर्दा पनि चुप लाग्ने भन्ने चाँहि नहुने तर विधिसम्मत रुपमा कानुनको पालनाका लागि एमाले प्रतिवद्ध रहेको बताए ।
अध्यक्ष ओलीले निर्वाचन आयोगले प्रतिपक्षी दलसँग कुनै पनि छलफल र परामर्श नगरी आचारसंहिता लागू गरेको बताएका छन् । आफ्ना पार्टीका प्रतिनिधिहरुले आचारसंहिता पढ्न र छलफल गर्नुपर्ने माग गरेकोमा आयोगले बेवास्ता गरेको बताए ।
निर्वाचन आयोगले सुरुमै कारवाहीको डण्डी देखाएर आचारसंहिता घोषणा गरेको बताए । उनले आयोग पक्षपती भएको बताउँदै सत्तापक्षको पृष्ठपोषण गरेको जनाए । ओलीले निर्वाचन आयोगलाई निष्पक्ष हुन आग्रह गरेका छन् । निष्पक्ष भएर दलहरुसँग परामर्श गरेर अघि बढ्न ओलीले आग्रह गरे । उनले भने, ‘दलहरु निर्वाचनमा जाने हुन्, दलहरुसँग परामर्श गरेर निष्पक्ष रुपमा निर्वाचन आयोग काम गरोस्, सत्तापक्षलाई सजिलो बनाउन गरी होइन ।’





