६ वैशाख , काठमाडौ । सरकारले आगामी वैशाख ३० गते देशभर एकैसाथ गर्ने भनिएको स्थानीय तहको निर्वाचनका लागि खोटाङमा सत्ता गठबन्धन दलहरूबीच तालमेल गर्ने सहमति भएको छ ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल र नेकपा (एकीकृत समाजवादी)बीच सत्ता गठबन्धनलाई कायम राख्दै स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने सहमति भएको हो ।
गत चैत १६ गतेदेखि सुरु भएको सत्ता गठबन्धनमा सहभागी चार दलको बैठकले वैशाख ३० गते हुने निर्वाचनमा तालमेल गर्ने सहमति जुटाएको कांग्रेस खोटाङका सभापति विष्णुकुमार राईले जानकारी दिए । दुई नगरपालिका र आठ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लामा चार पालिकामा कांग्रेसबाहेक र छ पालिकामा कांग्रेससहित चार दलबीच चुनावी तालमेल गर्ने सहमति भएको छ ।
हलेसी तुवाचुुङ नगरपालिका, दिप्रुङ चुइचुम्मा, केपिलासगढी र साकेला गाउँपालिकामा प्रमुख र उपप्रमुखसहित कांग्रेस एक्लै लड्दा अरू तीन दल (माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी)ले एकअर्कालाई सहयोग गर्ने सहमति भएको छ । हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा माओवादी केन्द्रका प्रमुख र उपप्रमुखका उम्मेदवारलाई एकीकृत समाजवादी र जसपाले सहयोग गर्ने सहमति भएको जनता समाजवादी खोटाङका अध्यक्ष टङ्क थापाले जानकारी दिए ।
साकेला गाउँपालिकामा माओवादी केन्द्रका प्रमुख र जसपाका उपप्रमुख, केपिलासगढी गाउँपालिकामा एकीकृत समाजवादीका प्रमुख र जसपाका उपप्रमुखलाई एकअर्काले सहयोग गर्ने सहमति भएको छ । बाँकी छ पालिकामा भने कांग्रेससहित चार दलीय गठबन्धन बनेको बैठकमा सहभागी नेकपा ९माओवादी केन्द्र०का केन्द्रीय सदस्य एवं जिल्ला सहइन्चार्ज समिता कार्की ‘अस्मिता’ले जानकारी दिए ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, रावाबेँसी, ऐसेलुुखर्क, खोटेहाङ, बराहपोखरी र जन्तेढुङ्गा गाउँपालिकामा भने चार दलबीच नै गठबन्धन गर्ने सहमति भएको माओवादी केन्द्र खोटाङका अध्यक्ष दीपक पाण्डे ‘आकाश’ले जानकारी दिए । यीमध्ये तीनमा कांग्रेस र तीनमा माओवादीले प्रमुखको उम्मेदवार पाउनेछन् ।



