२९ बैशाख , काठमाडौं । जिल्ला प्रहरी कार्यालय सुर्खेतले सुर्खेतको पञ्चपुरी नगरपालिका–७ धनबोटमा मदिरा सेवन गरेर अभद्र व्यवहार गर्ने वरिष्ठ सई नरेन्द्रप्रसाद भट्टलाई निलम्बन गरेर अनुसन्धान अघि बढाएको छ ।
उनी गणमा कार्यरत लेखापाल हुन् । बुधबार राति मदिरा सेवन गरेर निर्वाचनका अधिकृत लगायत कर्मचारी र स्थानीयलाई पनि कुटपिट गरेको आरोपमा प्रहरीका वरिष्ठ सई भट्ट पक्राउ परेका थिए। भट्ट धनबोटस्थित नेपाल राष्ट्रिय आवासीय विद्यालयको मतदान केन्द्रमा खटिएका थिए । राति मदिरा सेवन गरेर हतियार देखाई स्थानीयमाथि कुटपिट गर्न थालेपछि अन्य प्रहरी र म्यादी प्रहरीले भट्टलाई नियन्त्रणमा लिई निर्वाचन कर्मचारीको निवासमा पुर्याएका थिए ।
त्यहाँ पनि उनले निर्वाचनका अधिकारीमाथि हातपात गरेको आरोप लागेको छ । प्रदेश प्रहरी कार्यालय कर्णालीका प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले भट्टलाई नियन्त्रणमा लिइएको र आवश्यक कारबाही हुने जानकारी दिए । ‘मदिरा सेवा गरेर स्थानीयलगायत माथि कुटपिट गरेको आरोपपछि नियन्त्रणमा लिएका छौं । मेडिकल लगायत जाँच पनि भइसकेको छ । विभागीय नीतिभन्दा बाहिर गएर अनुशासनविपरीत गतिविधि गरेकाले कारबाही प्रक्रिया अघि बढाउँछौं,’ उनले भने ।






