१६ जेठ , काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका चार सांसदले बलात्कार मुद्दामा हदम्याद हटाउन माग गर्दै प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गराएका छन् ।
पीडितले उजुरी गर्न नसक्नुको भरपर्दो र मनासिव कारण देखाई उजुर गर्न आएमा दर्ता गरी अनुसन्धान गर्न सक्ने गरी कानुन संशोधन गर्नुपर्ने माग गर्दै सत्तारुढ संकल्प प्रस्ताव दर्ता गराएका हुन् । कांग्रेस संसदहरु डिला संग्रौला, सुजाता परियार, प्रमिला राई र रंगमती शाहीले संकल्प प्रस्ताव दर्ता गराएका हुन् ।
समाजको आवश्यकता, बदलिँदो परिवेशलाई हेरेर हदम्यादको विषय परिवर्तन गर्न र जबर्जस्ती करणीमा हदम्याद नराखी कानुन संशोधन गर्नुपर्ने संकल्प प्रस्तावमा उल्लेख छ ।
जर्बजस्ती करणी सम्बन्धमा भइरहेको कानुनको पूर्ण कार्यान्वयन गराई आफूमाथि भएको यौन हिंसाविरुद्ध बोल्न महिलाहरुलाई साहस थप्न पनि हदम्याद हटाउनुपर्ने उनीहरुले बताएका छन् ।
जबर्जस्ती करणीसम्बन्धी मुद्दामा ‘कसुर भएको मितिले एक वर्षभित्र र यस परिच्छेद अन्तर्गतको अन्य कसुरमा त्यस्तो कसुर भएको कुरा थाहा पाएको मितिले तीन महिना नाघेपछि उजुर नलाग्ने मुलुकी अपराध संहिताको दफा २२९ मा उल्लेख छ ।




