७ असार , काठमाडौं । रुपन्देहीको भैरहवास्थित प्रदेशस्तरीय बाल सुधार गृहमा प्रहरीमाथि आक्रमण भएको छ । बालगृहमा बस्ने किशोरहरुलाई स्थानान्तरण गर्ने तयारीको विरोधमा त्यहाँ रहेका १८ वर्ष मुनिका किशोरहरुले ताला लगाएर प्रहरीलाई भित्र छिर्न नदिई आक्रमण गरेका हुन् ।आक्रमणबाट जिल्ला प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेल र बडिगार्ड टोपबहादुर रखाल घाइते भएका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए । डीएसपी पौडेल र रखाल दुबैको अवस्था सामान्य छ ।
आक्रोशित किशोरहरुले सुधार गृहको भवनको सिसा समेत तोडफोड गरेका छन् ।बाल सुधार गृहमा क्षमता भन्दा बढी किशोर राखिएका छन् । ६० जना क्षमता भएपनि एक सय ६ जनालाई राखिएको छ ।बाल सुधार गृहका किशोरहरुको अमर्यादित व्यवहारबाट आजित भएको भन्दै स्थानीय बासिन्दाले मंगलबार मात्रै जिल्ला प्रशासन कार्यालयमा पुगेर सुधारगृह स्थानान्तरण गर्नु पर्ने मागसहित ज्ञापन पत्र बुझाएका थिए ।भैरहवामा चार वर्ष अघिदेखि प्रदेशस्तरीय बाल सुधार गृह सञ्चालनमा आएको हो । कुनै पनि अपराधमा संलग्न भएको आरोप लागेका वा संलग्न भएका बालबालिकालाई यहाँ राखिन्छ । तर, यहाँ किशोरअवस्थाका धेरै भएकाले उनीहरुले अवाञ्छनीय क्रियाकलाप गर्ने गरेको स्थानीयबासिन्दाको आरोप छ ।





