Comments Add Comment

Advertisment

SKIP THIS

वालिङमा व्यावसायिक ड्रागनखेती सुरु

१० असार , काठमाडौं । स्याङ्जाको वालिङ–१ धरमपानीमा व्यावसायिक रुपमा ड्रागनखेती सुरु भएको छ । वालिङ नगरपालिका–१ का कृष्णप्रसाद ढुङ्गानाले गत फागुनदेखि व्यावसायिक रुपमा ड्रागन खेती थालेका हुन् ।

ढुङ्गानाले ८० रोपनी जमिन भाडामा लिएर सुरुमा चार हजार बिरुवाबाट व्यवसाय थालेका हुन्। यस क्षेत्रकै नयाँ र नौलो व्यवसायको थालनी उनले युट्युबको सहायतामा अगाडि बढेका हुन्।

“युट्युब हेर्दै जाँदा ड्रागन खेतीका बारेमा देखेपछि यस क्षेत्रमै नयाँ र सम्भावना देखेकाले व्यावसायिकी करण थालनी गर्ने सोच बनाएँ”, उनले भने , “सुरुमा जमिन भाडामा लिएर सम्याउने काम सकिएसँगै चार हजार बिरुवा लगाएर सुरुआत गरेको हुँ ।” ८० रोपनी जमिनमा ३० हजार ड्रागनका बिरुवा लगाउने योजना उनको छ । तीस हजार बिरुवाका लागि उनले १० हजार सिमेन्टका खम्बा निर्माण गरेका छन् भने प्रत्येक खम्बामा तीन/चार वटा बिरुवा लगाउने तयारीमा छन्।

सिँचाइका लागि पर्याप्त पानीको आवश्यकता नपर्ने, हावापानी र माटो ड्रागन खेतीका लागि उपयुक्त भएकाले हालसम्म लगाएको बिरुवा राम्रो हुँदै गएको उनले बताए।

“वीरगञ्ज, विराटनगरबाट बेर्ना तथा बीउ ल्याएर लगाएको हुँ”, उनले भने, “अहिले राम्रो हुँदै गएकाले अझै बिरुवा थप्दै विस्तार गर्दै जाने तयारीमा छु ।” नयाँ र नौलो फल हुनुका साथै यसको माग पनि बढ्दै गएकाले उत्पादित वस्तुको बजारीकरणमा समस्या नहुने उनको धारणा छ ।

एक पटक रोपेपछि वर्षौँसम्म पनि फल दिने भएकाले पनि यो खेती सजिलो र पछिल्लो समय व्यावसायिकीकरण गरिँदै गएको छ । फल र स्वाद दुवै स्थानीयका लागि नौलो भएकाले पनि उत्पादन गर्न सकेमा उत्पादन भएको ठाउँबाट नै बिक्री हुनसक्ने उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै