१८ असार , काठमाडौं । गठबन्धनका शीर्ष नेताहरू बाराको निजगढमा पुगेका छन् । उनीहरू प्रस्तावित अन्तर्राष्ट्रिय निजगढ विमानस्थलको स्थलगत अध्ययनका लागि शनिबार निजगढ पुगेका हुन् । सो क्रममा उनीहरूले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घोषणा गरेका छन् ।
निजगढ पुग्नेमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, अर्थमन्त्री जनार्दन शर्मा, खानेपानीमन्त्री उमाकान्त चौधरी, पर्यटनमन्त्री जीवनराम श्रेष्ठलगायत छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा अर्को अन्तर्राष्ट्रियस्तरको विमानस्थल आवश्यक रहेको बताएका छन् । शनिबार निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलको निरीक्षणमा पुगेका उनले सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थलको एकदमै खाँचो रहेको बताएका हुन् ।
त्यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भविष्यलाई समेत हेरेर आयोजना निर्माण गरिनुपर्ने बताए । निजगढमा रहेका पुराना बस्तीलाई जोगाएर आयोजना अगाडि बढाउनुपर्नेमा उनले जोड दिए । आयोजना निर्माणमा सबैले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
वातावरण र पूर्वाधार विकासबीच सन्तुलन कायम गरेर विमानस्थल निर्माण गर्न सकिने सर्वोच्च अदालतको फैसला आएपछि शीर्ष नेताहरुले पहिलो पटक निर्माणक्षेत्रको भ्रमणमा गएका हुन् ।


