२४ असार , काठमाडौँ । ट्राफिक प्रहरीले दिने सेवालाई थप प्रविधिमैत्री, परिष्कृत र सहज बनाउन काठमाडौँ उपत्यकाको ट्राफिक कार्यालयहरूमा ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरुले तिर्नुपर्ने जरिवाना रकम प्रभु-पेको किअस्क मेसिनको प्रयोग गरि भुक्तानी गर्न सकिने व्यवस्था भक्तपुर ट्राफिक परिसर र महानगरीय ट्राफिक प्रभाग कलंकीमा एकैसाथ हिजोदेखि विस्तार गरेको छ ।

यस अघि यो व्यवस्था उपत्यका ट्राफिक प्रहरी महाशाखा लगायतका विभिन्न कार्यालयहरुमा चालु भैँसकेको र महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरमा पनि विस्तार गरेको छ ।
हिजो महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरमा आयोजित एक कार्यक्रमका वीच उपत्यका ट्राफिक प्रहरी महाशाखाकी प्रमुख डिआईजी मिरा चौधरी र प्रभु पेका प्रमुख वित्त अधिकारी सीएफओ रविप्रसाद सिग्देलले संयुक्त रुपमा रिबन काटी “प्रभु पेको किअस्क मेसिन” उद्घाटन गर्नु भएको हो । सो उद्घाटन पश्चात भक्तपुर ट्राफिक कार्यालय सेवा शुभारम्भ भएको छ ।

कार्यक्रममा बोल्नुहुदैँ उपत्यका ट्राफिक प्रमुख डिआईजी मिरा चौधरीले ट्राफिक नियम उल्लंघन गरेबापत सवारी प्रयोगकर्ताहरूले जरिवाना तिरी आफ्नो कागजपत्रहरु फिर्ता लिन सरल एवं सहज होस् भन्ने उद्देश्यले प्रभु पेको सहकार्यमा यो प्रविधि ट्राफिक कार्यालयहरुमा विस्तार गरिएको बताउनुभयो ।
“किअस्क” मेसिनमा सिधै नगद हालेर जरिवाना भुक्तानी गर्न सकिने भएकाले बैंकमा गई लाईन बस्नुपर्ने झन्झटबाट मुक्त भई समयको बचत हुने जानकारी उहाँले दिनुभयो ।







