२६ असार , काठमाडौँ । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका–५ धर्मौली मटरा स्थित गोबरी कोइरीको घरबाट प्रहरीले ठुलो मात्रामा चिनी बरामद गरेको छ ।
कोइरीको घरमा नाम थर ठेगाना नखुलेको व्यक्तिले लुकाइ छिपाई राखेको २ सय ३६ बोरा अर्थात एक सय १८ क्विन्टल चिनी र ५६ बोरा युरिया मल महेशपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी बल नेपाल र इलाका प्रहरी कार्यालय बेलाटारीको संयुक्त टोलीले छापा मारेर बरामद गरेको हो ।
चोरी पैठारी गरी कोइरीको घरमा चिनी संकलन गरि राखिएको सूचनाको आधारमा प्रहरीले छापा मारेको हो । चिनी ओसारपसार भइरहेको खबर भए लगत्तै महेशपुर भन्सार कार्यालय,सशस्त्र प्रहरी बल नेपाल र इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरीको संयुक्त टोलीले चिनीसहितको युरिया मल बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल गण नं २६ का सुचना अधिकारी रोशन घिमिरेले बताए।
उनका अनुसार बरामद चिनी र युरिया मलको मूल्य रु ७ लाख ८ हजार रहेको छ । तस्करहरूले भन्सार छली साइकल र मोटरसाइकलमा लोड गरि अवैध रुपमा भारतबाट ल्याएर नेपालको सीमावर्ती गाउँघरमा अवैध सामानहरू लुकाइछिपाइ राख्ने गरेको स्थानीयले बताउँछन् ।
चिनीसहितको युरिया मललाई आवश्यक कारवाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको ईलाका प्रहरी कार्यालय बेलाटारीका इन्स्पेक्टर नवराज केसीले जानकारी दिए।
यता केही दिनदेखि सिमावर्ती क्षेत्रमा तस्करी व्यापक रुपमा भइरहेको जन गुनासो बढेपछि महेशपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको उच्च अधिकारी सहितको टोलीले तस्कर माथि नजर बढाएको छ।






