२७ असार , काठमाडौं । कर्णाली प्रदेश सरकार जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले आर्थिक वर्ष २०७९/८० को बजेटबाट ४० प्रतिशत अधुरा योजना सम्पन्न गर्ने लक्ष्य लिएको बताएको छ । कर्णालीका ठूला जलविद्युत् आयोजनासाथै खानेपानी, सिँचाइका क्षेत्रमा समेत लगानी बढाएको मन्त्रालयले बताएको छ ।
हालसम्म पनि बजेट तर्जुमाको स्पष्ट मापदण्ड निर्माण नहुनु दुःखद् भएको प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले बताए । मन्त्री सिंहले भने, “हालसम्म ६० प्रतिशत प्राविधिक जनशक्तीको पद रिक्त हुँदा काम गर्न गाह्रो भएको छ ।” त्यस्तै उनले भूगोल सुहाउँदो कार्यालयको साङ्गठनिक संरचना बन्न नसक्नु तथा खानेपानी, सरसफाइ, सिँचाइ, नदी नियन्त्रण तथा ऊर्जा जस्ता जनताको मौलिक हक तथा गरिबी निवारणसँग प्रत्यक्ष जोडिएका क्षेत्रको विकास गर्नुपर्ने दायित्व बोकेको मन्त्रालयलाई बजेट सिलिङ अत्यन्तै कम उपलब्ध गराउँदा तोकिएका काम सम्पन्न गर्न गाह्रो भएको बताए ।
बजेटको सिलिङ करिब ४० प्रतिशत कम प्राप्त भएको सन्दर्भ कोट्याउँदै मन्त्री सिंहले आर्थिक मामिला तथा योजना मन्त्रालयको बजेट निर्माण मार्ग दर्शन अनुसार बहुवर्षीय, स्रोत सुनिश्चितभएका र क्रमागत योजनालाई प्राथमिकता दिएको उनले जानकारी दिए । सरकारको नीति अनुसार करिब ४० प्रतिशत पुराना योजना सम्पन्न हुने गरी बजेट प्रस्ताव गरी मन्त्रालयले काम गरेको उनले बताए ।
कर्णाली उज्यालो कार्यक्रम र ऊर्जासम्बन्धी कार्यक्रमसमेत कार्यन्वयन गर्ने गरी कार्यक्षेत्र विस्तार भएकोले केही नगन्य मात्रामा सन्तुलित तरिकाले नयाँ योजना प्रस्ताव गरी आवश्यकताका आधारमा मात्र योजना निर्माण भएको बताइएको छ । योजना छनोट प्रक्रियामा सुधार ल्याई जनताको प्रत्यक्ष जीवनस्तर सुधार गर्ने, योजनाको लाभ लागत अनुपात विश्लेषण गरी योजना तर्जुमा गर्न तथा योजना तर्जुमामा स्वयम कार्यालय प्रमुखलाई जिम्मेवार बनाउन आयोजना पहिचानसम्बन्धी जिल्लास्तरीय अभिमुखीकरण गोष्ठी सञ्चालन गर्न यो पटक बजेट विनियोजन गरिएको बताएको छ ।
आयोजनालाई दिगो रुपमा सञ्चालन गर्न तथा उपभोक्ताको योजनाप्रति अपनत्व भाव वृद्धि गर्न उपभोक्ता समितिलाई मर्मत सम्भार कार्यकर्ता तालिम तथा सिँचाइ संस्थागत विकास कार्यक्रमको लागि आवश्यक बजेट छुट्याइएको मन्त्रालयले जनाएको छ । स्वच्छ तथा गुणस्तरीय खानेपानी उपभोग गर्न पाउने जनताको मौलिक हक कार्यान्वयन गर्न खानेपानी संरचना निर्माणमा आवश्यक बजेट विनियोजन गरिएको मन्त्रालयका योजना महाशाखाका प्रमुख गोपाल शर्माले जानकारी दिए ।







