३२ असार , काठमाडौं । भारतले १०४ वटा पुल सहितको २९६ किमि लामो बुँदेलखण्ड एक्सप्रेस हाइवे करिव नेरु साढे २ खर्ब लागतमा निर्माण सम्पन्न गरेको छ । ३६ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित निर्माण सुरु गरिएको यो आयोजना ८ महिना अगावै सम्पन्न भएको छ जसको कारण यसको लागत पनि ११.७२ प्रतिशतले घटेको छ । अन्तर्राष्ट्रिय स्तरमा बनेको यो ४ लेनको हाइवेमा थप दुई लेन थप्न मिल्ने गरी जग्गा अधिग्रहण समेत गरिएको रहेछ ।
केही दिन अगाडि मात्रै बङ्गलादेशले आफ्नै आन्तरिक स्रोतबाट पद्मा नदीमाथि ६.३ किलोमिटर लामो पुल (माथिल्लो तल्लामा चार लेनको सडक र तल्लो तलामा सिङ्गल रेलवे ट्र्याक सहित) आफ्नै लागतमा निर्माण सम्पन्न गरेको थियो ।
नेपालको भने सबैजसो राष्ट्रिय गौरवका आयोजना /रुपान्तरणकारी आयोजनादेखि स-साना टुक्रे आयोजना समेत तोकिएको गुणस्तर, लागत र समयमा कार्यसम्पन्न गर्न नसकिरहेको अवस्था छ । हाम्रो क्षमता नै कम हो वा नियत नै खराब, गम्भीर विमर्श गर्ने बेला भैसकेको छ ।
नेपालको राजनीति, प्रशासन र निजी क्षेत्रका अगुवाहरुले आयोजना व्यवस्थापनको सन्दर्भका गम्भीर भएर फरक ढङ्गले सोच्न ढिलो भैसकेको देखिन्छ । ग्लोबल मापदण्डमा हामी पुछारमा रहँदै आएका छौं, यस्तै पारा हो भने हामी दक्षिण एशियाली क्षेत्रमा समेत सबैभन्दा कमजोर मुलुकको ज्वलन्त उदाहरण बन्ने निश्चित छ ।




