५ साउन , काठमाडौँ । इराकको एक रिसोर्टमा भएको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ । इराकको डुहोक प्रान्तको एक रिसोर्टमा बुधबार भएको हिंसात्मक हमलाको इराकका लागि संयुक्त राष्ट्रसंघीय मिसनले निन्दा गरेको छ ।
सो रिसोर्टमा भएको हमलामा परी नौ जनाको ज्यान गएको थियो भने अरु २३ जना घाइते भएका थिए । ती सबै जना पर्यटक रहेका इराकको गृह मन्त्रालयले जानकारी दिएको छ । इराकी सरकारी समाचार समितिका अनुसार इराकका लागि संयुक्त राष्ट्रसंघीय मिसनले एक विज्ञप्ति प्रकाशन गरेर सो हमलाको निन्दा गरेको जनाएको छ ।
सो मिसनले प्रकाशन गरेको विज्ञप्तिमा उक्त हिंसात्मक हमलाको अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न पनि माग गरेको छ । यस्ता हिंसात्मक हमलाहरू तत्कालै रोक्न भन्दै सो विज्ञप्तिमा नागरिकको सुरक्षित रुपमा बाँच्ने अधिकारको सम्मान गर्न पनि माग गरिएको छ ।



