९ साउन , काठमाडौँ । प्रहरीभित्र ‘जय नेपाल’ सम्मानित शब्द हो । जसले प्रहरी संगठनभित्रको आचरणलाई झल्काउँछ, प्रहरीभित्रको सभ्यतालाई दर्शाउँछ, प्रहरीभित्रको असल संस्कारलाई चित्रण गर्छ । प्रहरीभित्रको त्यही संस्कार, सभ्यता र आचरण झल्काउने शब्दलाई पद, पैसा र पहुँचकै लागि खिल्ली उडाइयो भने संगठन नै बदनाम हुन्छ ।
यस्तै कु–संस्कारको सुरुवात भएको छ, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेमा । अहिले यहाँका प्रमूख एवं प्रहरी निरिक्षक हिमालय बमलाई उनी मातहतका प्रहरी कर्मचारीले ‘जय नेपाल’ होइन, ‘राजा दर्शन’ भनेर सम्बोधन गर्नैपर्छ । उनलाई बिर्सिएर ‘जय नेपाल’ सम्बोधन गरिहाले अप्रत्यक्ष कारबाहीमा परिन्छ कि भन्ने चिन्ता प्रहरी कर्मचारीहरुमा छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षामा बसेर पहुँचकै आधारमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके आएका प्रहरी निरीक्षक हिमालय शाह आफू स्थानीय अर्थात् नेपालगन्जबासी रहेकोले आफूलाई कसैले हल्लाउन नसक्ने धाक लगाउँदै ‘हिमालय राज’ चलाइरहेका छन् । पोष्ट इन्चार्जदेखि सवारी लाइसेन्समा ‘हिमालय राज’ चलेको ट्राफिक प्रहरीभित्रै चर्चा छ ।
२४ घण्टाभित्र दरबन्दीमा फिर्ता पठाउन नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन शाखाले २०७९ असार १९ गते मातहतका प्रहरी कार्यालयहरुलाई पठाएको पत्र । यतिसम्मकी प्रधानमन्त्रीको धाक लगाउँदै प्रहरी निरीक्षक शाह संगठनकै आदेशविपरित काज फिर्ता नगरेर आफू निकटका व्यक्तिलाई संरक्षण गरिरहेका छन् । अन्यत्रै दरबन्दी भई काज खटिएका ट्राफिक प्रहरीलाई २४ घण्टाभित्र दरबन्दीमा फिर्ता पठाउन प्रहरी प्रधान कार्यालय प्रशासन शाखाले २०७९ असार १९ गते गरेको आदेश हालसम्म कार्यान्वयन भएको छैन ।
बाँकेमा ‘पहुँच’ नभएकालाई दरबन्दीमा फिर्ता जान रमाना थमाइएको छ भने ‘पहुँच’ भएका हाकिमसँग नजिक भएका ‘दर्शनवाला’लाई संरक्षण गर्दै २४ घण्टे आदेशको हाकिम शाहले नै खिल्ली उडाएका छन् । (हेर्नुस् २४ घण्टे आदेश ।) ‘हाकिम’को हुकुमी शैलीबाट आजित भएकाहरुले ट्राफिक प्रहरीमा ‘हिमालय राज’ चलेको व्यंग्य अहिले पनि गरिरहेका छन् ।

यस्तै नेपाल प्रहरी राजमार्ग तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवल प्रशासन शाखाले २०७९ असार २८ गते लुम्बिनी प्रदेश अन्तरगत रहेका सबै जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई १२ घण्टाभित्र सबै प्रहरी कर्मचारीको काज फिर्ता गर्न आदेश दिएको छ । (हेर्नुस् २४ घण्टे आदेश ।) जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले उक्त दुवै आदेशलाई धोती लगाइदिएको छ ।नेपाल प्रहरी राजमार्ग तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवल प्रशासन शाखाले २०७९ असार २८ गते लुम्बिनी प्रदेश अन्तरगतका सबै जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई पठाएको पत्र ।
प्रहरी निरिक्षक शाहले हिमालय ‘दर्शनवाला’ विश्वास पात्रका रुपमा बरिष्ठ प्रहरी नायव निरीक्षक सिद्धिगणेश शाहलाई ‘सेकेन्ड म्यान’ बनाएपछि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत दरबन्दी भएका सिद्धिगणेशले ‘हिमालय राज’कै आडमा बाँकेमा लामो समयदेखि ‘रजगज’ चलाइरहेका छन् ।
प्रहरी निरिक्षक शाहले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत दरबन्दी भएका प्रहरी सहायक निरिक्षक सुदिप हमाल, उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, काठमाडौं दरबन्दी रहेका प्रहरी बरिष्ठ हवल्दार मोहन सिंहलाई अहिलेसम्म दरबन्दीमा फिर्ता नपठाएको ट्राफिक प्रहरी कार्यालय स्रोत बताउँछ ।
त्यस्तै लुम्बिनी प्रदेश प्रहरी गण खजुरा, बाँके दरबन्दी भएका प्रहरी हवल्दार शैलेन्द्र शाह र प्रहरी सहायक हवल्दार भिम डिसीलाई दरबन्दीमा फिर्ता नपठाएर संगठनकै खिल्ली उडाएको ट्राफिक प्रहरीभित्रै चर्चा छ । प्रहरी प्रधान कार्यालयको प्रशासन शाखाले निर्देशन दिएको २२ दिन बितिसक्दा पनि प्रहरी निरिक्षक शाहले आफू निकटका व्यक्तिलाई रमाना दिएका छैनन् ।
प्रहरी निरिक्षक शाहले आफु इतरका प्रहरी सहायक निरिक्षक सुरेन्द्र शाह, प्रहरी हवल्दार केशवराज जोशी, प्रहरी सहायक हवल्दारद्वय एकराज पाण्डे, परेक रावल, प्रहरी जवानहरु सुरेन्द्र खत्री, प्रेम देवकोटा, हेमन्त शर्मा, शक्ति खड्का, कमल थारु र योगेन्द्रलाई भने प्रहरी प्रधान कार्यालयबाट पत्र आउने वित्तिकै रमाना दिएर दरबन्दीमा फिर्ता गरेका छन् ।बाँकेमै काज थमौति गर्न ‘पावर र पहुँच’ केही समयअघि साँझ परेपछि सिद्धिगणेशले धम्बोझी चोकमा मापसे चेकजाँचको पासो थापेर कृषि विकास बैंक नजिकैको अँध्यारोमा रसिद काट्ने बहानामा रकम असुलिरहेको भेटिएका थिए । जिल्ला ट्राफिक प्रहरी कार्यालय मातहतका ११ वटा ट्राफिक प्रहरी पोष्टबाट रकम असुलीको जिम्मा पनि बरिष्ठ प्रहरी नायव निरिक्षक सिद्धिगणेशलाई दिइएको छ ।

प्रहरी निरीक्षक हिमालयले आफ्ना विश्वासपात्र पैसा नबुझाउने पोष्ट इन्चार्ज फेरबदलको जिम्मा पनि बरिष्ठ प्रहरी नायव निरिक्षक सिद्धिगणेशलाई नै दिएका छन् भने सबैभन्दा बढी आम्दानी हुने मानिएको ट्राफिक प्रहरी पोष्ट नेपालगन्जमा रकम संकलनकै लागि डेढ बर्षदेखि प्रहरी हवल्दार शैलेन्द्र शाहलाई खटाइएको छ ।
अझ प्रहरीकै भाषामा ‘अफिस कलर’का रुपमा खटाइएका शैलेन्द्रको काम भनेकै रकम संकलन गरेर जिल्लामा पठाउनु हो । भारतबाट भन्सार गरेर आउने मालवाहक गाडीबाट सबैभन्दा धेरै रकम नेपालगन्ज पोष्टले उठाउँछ । भब्बर र ओभरलोडको कारण देखाउँदै भारतीय गाडीबाट १०० देखि २०० भारतीय रुपैयाँसम्म प्रहरी हवल्दार शैलेन्द्रले उठाउँदै आएका छन् ।

‘नेपालगन्ज पोष्ट अगाडी डिउटीमा खटिएका ट्राफिक जवानले गाडी रोक्छन् । गाडी रोकिएपछि डिउटीमा खटिएका ट्राफिकको इसारामा गाडीबाट ओर्लिएर एक जना कार्यालयभित्र पुग्छन् । गाडी मालिक, चालक या सहचालक झ्यालमा पुगेर रकम झ्यालबाटै बुझाउँछन् अनि हिँड्छन् तर रसिद जम्मा २०० मात्र कातिन्छ। सत्य-पाटीबाट






