१० साउन , काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोटरसाइकल चोरीमा संलग्न सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका ६ का २६ वर्षीय सन्तोष बन्जारालाई पक्राउ गरेको छ ।
हराएका मोटरसाइकलहरू चोरी गर्ने कार्यमा संलग्न अभियुक्तको खोजी गर्ने क्रममा उनलाई प्रहरीले महाराजगन्जबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनी बा ८४ प ६९०७ नम्बरको कालो रातो २२० पल्सर मोटरसाइकलमा सवार थिए । चोक जाँच गर्दा उक्त मोटरसाइकल चोरीको भएको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको प्रहरी नायब महानिरीक्षक (डीआईजी) मीरा चौधरीले जानकारी दिइन् ।
उक्त मोटरसाइकलको वास्तविक नम्बर बा८३ प ९२८१ रहेको खुल्न आएको छ । पक्राउ परेकाे मोटरसाइकल काठमाडौं रामहिटीस्थित घरको पार्किङबाट हराएको थियो । मोटरसाइकल धनी धिरोज रसाइलीले प्रहरीमा जाहेरी दिइसकेका छन् । पक्राउ गरिएका व्यक्तिसहित उक्त मोटरसाइकललाई चोरी मुद्दा अनुसन्धान कारबाहीका लागि प्रहरी वृत्त बौद्ध पठाएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।






