११ साउन , काठमाडौं । चीनको प्राज्ञिक क्षेत्रमा स्या राजवंशलाई पूरानो चीनमा सबैभन्दा पहिले स्थापित राजवंश मानिए तापनि यसको सम्बन्धित ऐतिहासिक सामग्री मोटामोटी रुपमा पछिका मानिसद्बारा ऐतिहासिक रचनामा पुनरावलोकनका रुपमा उल्लेख गरिएको हो र पूरातात्त्विक उत्खननबाट आवश्यक अकाट्य प्रमाणित वस्तु अझसम्म पनि पाइएको छैन। बरु साङ नामको राजवंश नै पूरातात्त्विक सामग्रीका आधारमा सबैभन्दा पूरानो भएको कुरा साबित हुनगएको छ। अब तल यसका सम्बन्धमा केही जानकारी गराइन्छ।
साङ राजवंशको स्थापना लगभग 16 औं शताब्दी ईशापूर्वमा भएको थियो र 600 वर्षपछि अर्थात् ईशापूर्व 11 औं शताब्दीमा त्यसको विनाश भएको थियो। यसको शुरुको शासनकालमा पटक-पटक आफ्नो राजधानी सार्ने काम गरिएको थियो र अन्ततः ईन भन्ने ठाउँलाई (अहिलेको हनान प्रान्तको आन-याङ नजिकै) राजधानीका रुपमा स्थापित गरिएको थियो। पूरातात्त्विक सामग्रीबाट के कुरा पनि प्रमाणित गरिएको छ भने साङ राजवंशको अघिल्लो कालमा चिनियाँ सभ्यताको विकास निकै उच्च स्तरमा पुगिसकेको थियो जसको मुख्य विशेषता कछुवाको आवरण वा जनावरको हाडमा खोपिएको अक्षर तथा काँस सम्बन्धी सँस्कृतिबाट अभिव्यक्त हुन गएको छ।
कछुवाको आवरण वा जनावरको हाडमा खोपिएको अक्षर संयोगवश फेला पारिएको हो। बीसौं शताब्दीको शुरुतिर हनान प्रान्तको आन-याङदेखि उत्तर-पश्चिममा अवस्थित स्याउ-थुन गाउँका किसानहरुले संयोगवश टिप्न पाएको कछुवाको आवरण तथा जनावरको हाड औषधि पदार्थका रुपमा बेचिदिए। कुनै विद्बानले ती पदार्थमा पूराना अक्षर भएको पहिचान गरे र अझ बढी त्यस्ता चीज पहिल्याउन कोशिश गरे। केही समय पछि चीनका प्राचीन लिपीकारले ती पदार्थमा साङ राजवंशका अक्षर पो कुंदिराखिएको कुरा प्रमाणित गरेका थिए अनि त्यही स्याउ-थुन गाउँमा नै पूराना ग्रन्थमा उल्लेख गरिएको साङ राजवंशको राजधानी ईनको भग्नावशेष रहेको कुरा पक्का गरेको छ।
ईनको भग्नावशेष फेला पार्ने काम र त्यसको उत्खनन बीसौं शताब्दीमा चीनको पूरातात्त्विक खोज कार्यमा प्राप्त सबैभन्दा ठूलो उपलब्धि हो। सन् 1928मा त्यसको पहिलो उत्खनन गरिएदेखि यता यस ठाउँमा कछुवाको आवरण एवम् जनावरको हाड तथा काँसका भाँडाकुँडा लगायतका प्रचूर मूल्यवान पूराना वस्तु भेट्टिएका छन। साङ राजवंशताका राजाले कुनै पनि काम गर्नु अघि लक्षण वा साइत हेर्नैपर्थ्यो। अनि कछुवाको आवरण एवम् जनावरको हाड साइत हेर्ने काममा प्रयोग गरिने साधन थियो। सर्वप्रथम रगत-मासु नहुने गरी सफा गरिएपछि काट्ने, ताछ्ने र रगेड्ने क्रियाद्बारा चाहिने भागलाई चिप्लो बनाउने गरिन्थ्यो अनि चक्कुले त्यसमा व्यवस्थित ढंगले काट्ने-कुँद्ने गरिन्थ्यो। लक्षण हेर्ने ज्योतिषले त्यस्ता आवरण वा हाडमा आफ्नो नाम, मिती तथा सोध्नुपर्ने प्रश्न अंकित गरेपश्चात् आगोको मुस्लोमा काट्ने-कुँद्ने ठाउँनिर पोल्ने गर्दथे। रापले गर्दा ती ठाउँमा फुट्ने गरी चिरा-चिरा निस्केर आउँथ्यो जसलाई लक्षण भनिन्थ्यो। ज्योतिषले चिराको आकृति हेरेर विश्लेषण गरेपछि निष्कर्ष निकाल्थे र यसका आधारमा सफल या असफल भन्ने कुराको निर्क्यौल गर्दथे। यसरी लक्षण हेरेर जचाउने काम गरेपछि अक्षर अंकित भएका ती आवरण वा हाडलाई आधिकारिक मिसिलका रुपमा सुरक्षित राखिन्थ्यो।



