Comments Add Comment

Advertisment

SKIP THIS

एआइजी विश्वराज पोखरेलको राजीनामा अलपत्र

१७ साउन , काठमाडौं । आइजिपीमा नियुक्त नभएपछि एआइजी विश्वराज पोखरेलले दिएको राजीनामा अलपत्र परेको छ । प्रक्रिया नपु¥याई राजीनामा दिएपछि स्वीकृतीको प्रक्रिया रोकिएको हो ।

गत ३१ असारमा उनले दायर गरेको रिट सर्वाेच्च अदालतले खारेज गरिदिएको थियो । २ साउनमा उनले प्रहरी प्रधान कार्यालयमा राजीनामा दिएका थिए । तर, राजीनामा सनाखत हुन नसकेको भन्दै स्वीकृत नभएको हो । राजीनामा दिएयता पोखरेल नियमित मोबाइल स्वीच अफ गरेर एकान्तवासमा छन् ।

स्रोतका अनुसार अब उनको नियमित अवकाश हुनेछ । ५६ वर्षे उमेरहदका उनले १९ साउनदेखि अनिवार्य अवकाश पाउँदैछन् । राजीनामा स्वीकृतीको प्रक्रिया अघि नबढेपछि उनको अब अनिवार्य अवकाश हुने भएको छ । दुई ब्याचसम्मलाई टपेर बढुवा भई आइजिपीको कुर्सी पक्का गर्ने दौडधुपमा लागेका उनको बर्हिगमन सुखद हुन सकेन ।

उता उनको अवकाश नहुँदै प्रहरीभित्र एआइजी बढुवाको चलखेल सुरु भइसकेको छ । त्यही पदमा बढुवाका लागि डिआइजीहरु प्रदेश समेत नगई प्रहरी प्रधान कार्यालयमै बसेका छन् ।

गत महिना डिआइजीमा बढुवा भएका बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, उमेशराज जोशी, रामदत्त जोशी, सन्दीप भण्डारी लगायत एआइजी बढुवाका दाबेदार हुन् । उनीहरुमध्ये बढुवामा फड्को मारेकाहरु जसरी पनि एआइजी हुने दाउमा लागेका छन् ।

तर, तीन जना सिनियर डिआइजी पनि बढुवाको प्रतिस्पर्धामा छन् । नलप्रसाद उपाध्याय, मोहन कुमार आचार्य र मसउद आलम खाँ आइजिपी धिरजप्रताप सिंहका ब्याची हुन् । प्रदेशमा कमाएको पैसा खर्च गरेर भएपनि एआइजी हुन उनीहरुको पनि बालुवाटारमा दौडधुप छ ।

तर, विगतमा जस्तो एआइजीको एकल बढुवा हुने सम्भावना भने नभएको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ । भदौमा अर्का एआइजी मुकुन्दराज आचार्यले पनि अवकाश पाउँदैछन् । त्यस्तै दुई महिनापछि अरुण कुमार बिसी र रबिन्द्र धानुकले पनि अवकाश पाउनेछन् । त्यो अवस्थामा चार एआइजीको दरबन्दी रिक्त हुन्छ । त्यसपछि मात्र एआइजी बढुवा गर्ने प्रहरी महानिरीक्षक सिंहको तयारी छ । यद्यपि, त्यसअघि नै प्रहरीमा ३० वर्षे सेवाहद तथा ५६ वर्षे उमेरहद हटाउन पनि लबिइङ भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै