२१ साउन , काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले पशुपति क्षेत्रलाई सफा राख्न निर्देशन दिएका छन् ।
शनिबार बिहान पशुपति क्षेत्रको अवलोकन गर्ने क्रममा मन्त्री श्रेष्ठले सरसफाइमा ध्यान दिन पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएका हुन् । सांस्कृतिक एवं पुरातात्वक महत्वको पशुपति क्षेत्र खुला संग्रहालयको रूपमा रहेको बताउँदै सधैं सफा हुनुपर्ने बताए ।
भक्तजन, तीर्थयात्री, पैदलयात्री एवं पर्यटकलाई सहज हुनेगरी सबै प्रबन्ध मिलाउन पनि उनले निर्देशन दिए ।
मन्त्री श्रेष्ठले पुनर्निर्माण भइरहेका सम्पदा स्थलहरु, विश्वरुपा मन्दिर, मृगस्थली, शेल्षमान्तक वन, विभिन्नमठमन्दिर, स्तूपलगायतको अवलोकन तथा निरीक्षण गरेका थिए ।
सोक्रममा उनले घाट व्यवस्थापनबारे जानकारी लिंदै पानी, बिजुली तथा सार्वजनिक शौचालय व्यवस्थापन गरी सहज सेवा प्रवाह गर्न निर्देशन दिए । सो अवसरमा पशुपति क्षेत्रको बृहत्तर सुधार कार्यक्रम तथा पुनःनिर्माण कार्य भइरहेको कोषका सदस्यसचिव डा. मिलन कुमार थापाले जानकारी दिएका थिए ।





