२४ साउन , काठमाडौं । गोरखा नगरपालिका–८ स्थित नयाँबस्तीका २० वर्षीय अनिल आलेको हत्याका आरोपित सात प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
जिल्ला अदालतले आले हत्या आरोपका प्रतिवादीलाई कारागार चलान गर्न आदेश दिएपछि उनीहरूलाई कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सोमदास ढकालले जानकारी दिए । कारागार चलान हुनेमा हत्याका आरोपित गोरखा–८ का २० वर्षीय शिशिर थापा, पालुङटार नगरपालिका–८ का १९ वर्षीय सचिनबाबु कोइराला, पालुङटार–२ का १९ वर्षीय सुलभ रानामगर रहेका छन् ।
यस्तै, धार्चे गाउँपालिका–५ का २३ वर्षीय सुरेश सुनार, बारपाक सुलिकोट गाउँपालिका–४ का २१ वर्षीय विष्णु विक, तनहुँको बन्दीपुर गाउँपालिका–६ का १९ वर्षीय प्रथम गुरुङ र दाङको गढवा गाउँपालिका–८ का ४२ वर्षीय नरेश बुढामगरलाई पनि कारागार चलान गरिएको उनले बताए ।
गएको असार ३० गते बिहान गोरखा–८ मा पर्ने नयाँबस्ती टोलस्थित सडकखण्डमा नालीमा मृतावस्थामा भेटिएपछि प्रहरीले आलेको हत्या भएको आशंकामा उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानपछि उनीहरूविरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरिएकामा अदालतले सबैलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । रासस


