१२ भदौ , काठमाडौँ । प्रहरी हुँ भन्दै पक्राउ परेकालाई छुटाउने भन्दै उनीहरूका अभिभावकबाट रकम असुल्ने एक युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-१४ का २० वर्षीय प्रतिक बस्नेत छन् । जिल्ला प्रहरी कार्यालय प्युठानको सहयोगमा उनलाई प्यूठानको बिजुवारबाट शनिबार पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङमा रहेका थुनुवा छुटाईदिने भन्दै उनीहरूका अभिभावकसँग ५० हजार रकम घुस लिनेलाई एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजनकुमार गौतमले जानकारी दिए ।
सार्वजनिक अपराधमा २३ दिनसम्म थुनामा रहेका बस्नेतले थुनुवामा रहदा चिनजान भएका साथीहरूसँग उनका अभिभावकहरूको नम्बर लिएको र अभिभावकलाई फोन गरेर म जिप्रका मुद्धा फाँटको प्रहरी हुँ, नगद रकम दिएपछि छुटाईदिने भन्दै ५० हजार लिएको डीएसपी गौतमले बताए ।
पक्राउ परेका बस्नेतलाई म्याद थप गरि थप अनुसन्धान अगाडी बढाईने जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।




