काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिका–३ स्थित फुलचोकी जंगलमा सोमबार महिलाको शव भेटियो । शव रौतहटको हजारिया माइती भएर ललितपुर बस्दै आएकी ४७ वर्षीया रुपा क्षेत्रीको भएको थाहा भएको छ । 
ललितपुर महानगरपालिका–२९ स्थित हरिसिद्धी बस्दै आएकी रुपालाई हत्या गरेको आरोपमा प्रहरीले उनका पति घ्याल्मो लामालाई पक्राउ गरेको छ । ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले पत्रकार सम्मेलन गरेर रुपालाई उनकै पति घ्याल्मो लामाले हत्या गरेर जंगलमा फालेको जानकारी दिए । ६३ वर्षीय घ्याल्मो दोलखाको भिमेश्वर नगरपालिका–९ का स्थानीय हुन् । 
काठमाडौँ उपत्यकामा घर बनाउने कामदारलाई संयोजन गरेर साना ठेक्का लिएर जीविकोपार्जन गर्दै आएका घ्याल्मोले पत्नीलाई योजनाबद्ध हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । ‘लगातारको घर झगडाले हत्याको रूप लिएको देखिन्छ’ एसएसपी पोखरेल भन्छन्–‘हत्याबारे थप अनुसन्धान हुँदै छ ।’
घ्याल्मोकी तेस्री पत्नी हुन्, रुपा क्षेत्री । रुपाले दैनिक मदिरा सेवन गरेर झगडा गरेर हैरानी दिएको हुनाले हत्या गरेको आरोपीले प्रहरीलाई बताएका छन् । भदौ १६ मा मदिरा सेवन गरेकी पत्नीले झगडा गर्न थालेपछि उनले फकाएर गोदावरीतिर लगे । गोदावरीमा बुद्ध धर्म मान्नेहरूले बाँसमा टाँगेको धजाको डोरी चुँडालेर पत्नीसँगै हिँडिरहे । गोदावरी चोकबाट करिब ४ किलोमिटर पर जंगलमा पुगेपछि घाँटीमा डोरीले कसेर हत्या गरेको अनुसन्धानबाट थाहा भएको छ ।
रुपासँग घ्याल्मोले २०७२ सालमा विवाह गरेका हुन् । रुपातिरका बच्चा छैनन् । हरिसिद्धिमा जेठीतिरका छोरीहरू बस्ने डेरा नजिकै बस्दै आएका घ्याल्मो हत्यापछि फर्किए ।
स्थानीयले जंगलमा शव देखेर प्रहरीलाई खबर गरेपछि १०-११ दिनअघि हत्याको घटनाको रहस्य खुलेको छ । घ्याल्मोलाई ज्यान सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको एसएसपी पोखरेलले जानकारी दिए ।
एसएसपी यज्ञविनोद पोखरेलका अनुसार लामाले भदौ १६ गते दिउँसो १२ देखि १ बजेको समयमा श्रीमतीको हत्या गरेको देखिएको छ ।
ग्याल्मोले ३ वटी श्रीमती विवाह गरेको प्रहरीले पत्ता लगाएको छ । जेठी श्रीमती लालमाया तामाङको १२ वर्ष अगाडि मृत्यु भएको थियो । उनी तर्फबाट २ छोरी र १ छोरा छन् । दोस्री श्रीमती आइतमाया तामाङ दोलखामा बस्दै आएकी छन् । उनी तर्फबाट २ जना छोरा छन् भने रुपा तेस्री श्रीमती थिइन् ।
ग्याल्मोको अन्य छोराछोरी र श्रीमतीसँग सम्पर्क नरहेको देखिएको प्रहरीले बताएको छ । ग्याल्मो र रूपा ललितपुरमा ज्यामी काम गर्दै आएका थिए ।


