एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरलाई एक नम्बर प्रदेश सरकारले मोटरसाइकल हस्तान्तरण गरेको छ ।
बुधबार आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको अध्यक्षतामा आन्तरिक मामिला तथा कानून मन्त्रालयको प्राङ्गणमा भएको कार्यक्रममा प्रमुख अतिथि एक नम्बर प्रदेशका मुख्य मन्त्री राजेन्द्र कुमार राईले प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुदिप गिरीलाई बजाज कम्पनिको ६ वटा डोमिनार मोटरसाइकल हस्तान्तरण गरेका हुन् । 
हस्तान्तरण कार्यक्रममा बोल्दै प्रदेश प्रहरी प्रमुख गिरीले प्रदेश सरकारबाट प्राप्त भएको ६ वटा मोटरसाइकल प्रदेश प्रहरी कार्यालयले ट्राफिक ब्यवस्थापन, सवारी दुर्घटना न्यूनीकरण तथा भिआईपिहरुको स्कर्टिङको लागि प्रयोग गरिने बताए ।
प्रदेश सरकारबाट प्राप्त भएको उक्त मोटरसाइकल नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय इटहरी सुनसरीलाई उपलब्ध गराएको छ ।
कार्यक्रममा ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याम कुमार महतोले ट्राफिक ब्यबस्थापन तथा सवारी दुर्घटना न्युनिकरणका भावि योजनाहरु समेतको प्रस्तुतिकरण गरेका थिए ।
उक्त कार्यक्रममा मन्त्रालयका पदाधिकारी तथा पत्रकारहरुको समेत उपस्थिति रहेको थियो ।



