१ कार्तिक , काठमाडौं । शव वाहक गाडीको अगाडिको भाग फूलको मालाले सजाइएको थियो । गाडीमाथि अड्याइएको तस्बिरमाथि लेखिएको थियो, ‘हार्दिक श्रद्धाञ्जलि’ । तस्बिरको बायाँतर्फ ‘जन्म : २०५१/३/२०’ र दायाँतर्फ ‘स्वर्गारोहण : २०७९/६/३०’ उल्लेख थियो । तस्बिरमुनि लेखिएको नाम ‘स्व. निसिम थापा’ भने फूलहरूले पुरिएको थियो । गाडीमा शवसँगै स्तब्ध उभिएका थिए, निसिमका बुवा प्रकाश थापा ।
गाडीको पछाडि पोखराका मेयरदेखि राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी, सेनाका अधिकारी, खेलप्रेमी अनि आफन्त थिए । उदास मुद्रामा गाडीलाई पछ्याइरहेका उनीहरू कसैका आँखा ओभाना थिएनन्, आफन्तहरूको रुवाइ र विलौनाले वातावरण विक्षिप्त थियो ।
सोमबार पोखरामा देखिएको दृश्य हो यो । प्याराग्लाइडिङ खेलाडी निसिम थापाको खेलकै दौरानमा आइतबार देहान्त भयो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको क्रस कन्ट्री प्याराग्लाइडिङ इभेन्टमा सहभागी निसिमले उत्कृष्ट प्रदर्शन गरिरहेका थिए । त्रिभुवन आर्मी क्लबमा अनुबन्धित उनलाई यसपालिको विजेताको रूपमा हेरिएको थियो ।
आइतबार मध्याह्न सराङकोटको खुलेको आकाशमा सबैभन्दा पहिले निसिमले टेक अप गरेका थिए । सय मिटरजति माथि पुगेपछि उनलाई ग्लाइडले धोका दियो । अकासिनुको सट्टा ग्लाइड फनफनी घुमेर उनी भुइँमा बजारिन पुगे ।
‘हाम्रो भाषामा अटोरोटेसन भन्छ । कहिलेकाहीँ ग्लाइड कोल्याप्स हुन्छ । त्यसलाई कभर गर्दागर्दै अटो हुन पुग्यो, अनि रोटेट भएर क्र्यास भयो,’ नेपाल प्याराग्लाइडिङ पाइलट क्लबका अध्यक्ष विमल पहारी घटनाको प्रकृतिको विश्लेषण गर्छन्, ‘हावाको चाप नियन्त्रणमा लिन खोज्दाखोज्दै लोमा आएछ । अनि जमिनमा शरीर ठोकिन पुग्यो ।’
टाउकोमा चोट लागेका थापालाई तत्काल उपचारका लागि पोखरास्थित मेट्रोसिटी अस्पताल पु¥याइएको थियो, अस्पतालले मृत घोषणा गरिदियो । सोमबार बिहान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निसिमको शवको पोस्टमार्टम भयो, त्यसपछि शवलाई बौद्ध अर्घौं सदन रामघाट पु¥याइयो ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल प्रांगणमा निसिमका बाल्यकालीन साथीहरू उपस्थित थिए । असीम गुरुङ गहभरि आँसु पारेर उभिएका थिए । पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत असीम निसिमका नजिकका साथी हुन् । कक्षा १२ दुवैले सँगै पढेका थिए । असीमलाई निसिमले शनिबार भेट्ने भनेका थिए । जिममा उनीहरूको भेट भइरहन्थ्यो । व्यस्तताका कारण दुईबीच शनिबार भेट हुन सकेन । ‘निकै मिलनसार र सहयोगी भावनाको थियो । बिचरा उसको दाइ (दाइ पर्ने) पनि यस्तै प्याराग्लाइडिङ दुर्घटनामै बितेका हुन् । ऊ पनि… !’ असीमको गला अवरुद्ध भयो ।
आमा सावित्री मोक्तानको बिलौना आइतबारदेखि उस्तै छ । बौद्ध अर्घौं सदनमा लामाले मृत्युसंस्कार पाठ पढ्दै थिए, सावित्री छोराको शवलाई चुम्न पुगिन् र भगवान्सँग गुनासो गरिन्– ‘तिमीले मेरो प्रार्थना सुनेनौ भगवान् !’
गोरखा पालुङटारमा जन्मिएका निसिम आमाबुवाका एक्ला सन्तान हुन् । निसिमको निधन हुँदा उनकी आमा काठमाडौंमा थिइन् । उनलाई नेपाली सेनाले हेलिकप्टरमा पोखरा ल्याएको हो । पोखरा आएपछि मेट्रोसिटी अस्पतालमा रहेको छोराको शवलाई उनले हेर्नै सकिनन् ।
निसिमलाई त्यहाँबाट पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगियो । बुबा सम्हालिँदै थिए, आमाले जसरी भए पनि अन्तिमपटक छोराको मुख हेर्ने भनेर रोइरहँदा अस्पताल परिसर नै भावविह्वल बन्न पुगेको थियो ।
पोस्टमार्टम भवनभित्र राखिएको कोल्ड स्टोर्सबाट निसिमको शव देखाइयो । शवलाई अँगाल्दै सावित्री भक्कानिइन् ।
संस्कार अनुसार पूजा सकिएपछि निसिमलाई अर्घौं सदनमैै रहेको विद्युतीय शवदाह गृहमा लगियो । देशका एक खेलाडीको शरीर खरानी भयो ।
अलबिदा निसिम !
निसिमको उदय
आज मंगलबारसम्म प्याराग्लाइडिङका इभेन्टको छिनोफानो भइसक्थ्यो । प्याराग्लाइडिङका पाइलट, यो क्षेत्रका विज्ञ र खेलमै सहभागी अन्य खेलाडीले स्विकारेका थिए, ‘निसिम थापा पदकका दाबेदार हुन् ।’ आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता (०७५) मा पहिलोपटक प्याराग्लाइडिङ खेल समावेश भएको थियो । त्यतिबेला त्रिभुवन आर्मी क्लबमा आबद्ध भई निसिमले रजत जितेका थिए ।
२३ वर्षको उमेरमा विभागीय टिमबाट खेलेर रजत जितेपछि निसिम आशावादी भएका थिए, नवौँ प्रतियोगितामा स्वर्ण जित्ने उनको लक्ष्य थियो । ग्लाइडको सहारामा हावाको वेगसँग पौंठेजोरी खेल्दै पदक जित्नु चानचुने कुरा होइन । पछिल्लो दशकदेखि पोखराको आकाशमा प्याराग्लाइडिङ उडाइरहेका निसिम टेन्डमदेखि सोलो उडानमा अब्बल थिए ।
नेपाली खेलकुद इतिहासमा प्याराग्लाइडिङ समावेश भएसँगै उत्साहित उनलाई यसपालि पनि विभागीय टिम नेपाल आर्मीले अनुबन्ध गरेको थियो । ‘निसिम क्रस कन्ट्रीका राम्रा प्लेअर हुन । विभिन्न प्रतियोगितामा भाग लिइरहन्थे । लामो दूरीका राम्रा पाइलट हुन् । हामी बिहान पनि भेटेका थियौँ, बेस्ट अफ लक भनेर तल झर्यौँ, तर ब्याडलक हुन पुग्यो,’ पाइलट क्लबका अध्यक्ष पहारी भन्छन् ।
आइतबारको इभेन्टमा उनलाई रेफ्री सुरेन गुरुङले आकाशबाटै हेर्दै थिए । प्रतियोगिता सुरु गर्नुअघि आवश्यक तयारी पूरा भएपछि हावाको चाप र मौसमको अवस्था बुझ्न सबैभन्दा पहिला रेफ्री सुरेन प्याराग्लाइडिङमा उडे । हावाको चाप नर्मल भएपछि उनले नै निसिमलाई उडानकोे अनुमति दिएका थिए । राष्ट्रिय खेलकुदका इभेन्ट पिक आवरमा पुगेका बेला आइतबार पोखरामा देशले एउटा प्रतिभा गुमायो । प्याराग्लाइडिङ खेलाडीका रूपमा अन्तर्राष्ट्रिय मान्यता पाएका पाइलट निसिमले नेपालमा मात्र होइन, भारत, इन्डोनेसिया, कोरिया लगायत देशमा प्याराग्लाइडिङ प्रतियोगितामा भाग लिइसकेका थिए ।
नेपाली सेनाको मध्य कमाण्ड हेडक्वार्टरका पृतनापति बाबुराम श्रेष्ठ भन्छन्, ‘दुर्भाग्य भयो, पदकभन्दा ज्यान ठूलो थियो । उहाँ राम्रो खेलाडी हुनुहुन्थ्यो ।’
यसपटक पनि आर्मीले प्याराग्लाइडिङका सबै इभेन्टमा भाग लिएको थियो । ‘निसिमले स्वर्ण जित्नेमा आर्मी विश्वस्त थियो । निसिमको निधनसँगै प्याराग्लाइडिङका सबै इभेन्ट रद्द भए । अहिले प्याराग्लाइडिङ नै अनिश्चितकालका लागि बन्द भएको छ ।
प्याराग्लाइडिङमा सहभागी २५ खेलाडीमध्ये प्रतियोगितामा आइतबार निसिम आठौं नम्बरमा आएका थिए । सोमबार र मंगलबार उडान सकेपछि प्याराग्लाइडिङको फाइनल हुन्थ्यो । रेफ्री सुरेनका अनुसार, सबै खेलाडीको प्याराग्लाइडिङमा जिपिएस जडान गरिएको थियो । पाइलट उडेर कहाँसम्म पुग्ने जिपिएसमै प्वाइन्ट गरिएको थियो । खेलाडीका जिपिएसलाई सिस्टममा राखेपछि रिजल्ट आउँथ्यो ।
निसिमको निधन भएपछि म्याग्दीमा जारी महिला भलिबल खेलाडीदेखि उपस्थित दर्शक, पदाधिकारीले शोक प्रकट गर्दै मौनधारण गरेका छन् ।
‘प्राधिकरणसँग अनुमति लिइएको थिएन’
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङ उडाउन नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति नलिएको पाइएको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपले प्याराग्लाइडिङ उडाउन प्राधिकरणसँग अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ । राखेपले प्राधिकरणको कुनै पनि कार्यालयबाट अनुमति नलिएको नागरिक उड्डयन कार्यालय पोखराका प्रमुख विक्रम गौतमले बताए ।
यता, राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य अञ्जन धमलाले नेपाल सरकारकै कार्यक्रम भएकाले अनुमति नलिएको प्रतिक्रिया दिए ।



