१५ मंसिर , काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । प्रतिनिधिसभामा २८ र प्रदेश सभामा ५६ निर्वाचन क्षेत्र रहेको प्रदेश १ मा सुनसरी–४ बाहेक सबै स्थानको नतिजा आइसकेको छ ।
प्रदेशमा १२ महिलाले उम्मेदवारी दिएकोमा चारजना मात्र विजयी भएका छन् । तीमध्ये दुई प्रतिनिधिसभा तथा दुई प्रदेशसभा सदस्य हुन् ।
को– कहाँबाट निर्वाचित ?
प्रतिनिधिसभा तर्फ
सीता गुरुङ
तेह्रथुममा नेपाली कांग्रेसबाट सीता गुरुङ निर्वाचिन भएकी छन् । एमालेका उम्मेदवार विजय सुब्बा गुरुङलाई १ हजार ७९ मतको अन्तरले पराजित गर्दै ४६ वर्षीया गुरुङ निर्वाचित भएकी हुन् । उनले १९ हजार ७ सय २ मत ल्याउदा सुब्बाले १८ हजार ६२३ मत पाएका छन् ।
भगवती चौधरी
सुनसरी ३ बाट एमालेकी भगवती चौधीरी निर्वाचित भएकी छिन् । उनले सत्ता गठबन्धनका साझा उम्मेदवार काँग्रेसका प्रभावशाली नेता विजयकुमार गच्छादारलाई पराजित गरेकी हुन् । चौधरीले गच्छादारको सातपटकको विजयी यात्रामा ब्रेक लगाएकी हुन् । उनले ४० हजार १८८ मत ल्याउदा गच्छदारले ३५ हजार ६०० मत प्राप्त गरे।
प्रदेश सभातर्फ
खिनु लङ्वा
प्रदेशसभा सदस्यमा इलाम (क) बाट एकीकृत समाजवादीकी खिनु लङ्वा लिम्बू विजयी भइन्। उनले १८ हजार ६८६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवेन्द्र राईले ९ हजार ३२७ मत ल्याएको छन्। दुई प्रतिनिधिसभा र ४ प्रदेशसभा रहेको इलामबाट महिला उम्मेदवार उनी मात्रै हुन्।
सविना बजगाई
झापा (क) बाट राप्रपाकी सविना बजगाई निर्वाचित भइन्। उनले नेकपा माओवादी केन्द्रका श्यामवीर लिम्बूलाई एक हजार ३८७ मतले पराजित गरेकी हुन्। उनले १३ हजार ६१२ मत प्राप्त गर्दा लिम्बुले १२ हजार २२५ मत पाए।
संविधानमै राज्यको सबै निकायमा ३३ प्रतिशत प्रतिनिधित्व अनिवार्य गरिए पनि ०७४ देखि ०७९ सम्म आइपुग्दा प्रतिनिधि र प्रदेशमा नेतृत्व गर्ने महिलाको सहभागिता यसरी खुम्चिँदै गएको छ।
सत्ता गठबन्धनका कारण दलगत हिसाबमा भागवण्डामा उम्मेदवार तय गरिएकाले महिला सहभागिता कम भएको सरोकारवालाको बुझाइ छ।



