२४ पुष , काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको फ्रेन्चाइज क्रिकेट नेपाल टी-२० लिगमा स्पट फिक्सिङ् भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रारम्भिक निष्कर्ष निकालेको छ ।
९ पुसदेखि सुरु भएको प्रतियोगिता सुरुवातदेखि नै वेटिङ र फिक्सिङको चर्चा सुरुपछि गृहमन्त्री रवि लामिछानेले फिक्सिङ्बारे अनुसन्धान गर्न सीआईबीलाई निर्देशन दिएका थिए ।
प्रारम्भिक अनुसन्धानअनुसार तीनजना नेपाली र ४ जना विदेशी खेलाडीले स्पट फिक्सिङ् गरेको पाइएको छ ।
वेटिङ र फिक्सिङमा नेपाल टी-२० लिगको व्यापारिक तथा रणनीतिक साझेदारीसहित सञ्चालन अधिकार पाएको विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सको संलग्नता भएको संकेत मिलेको सीआईबीले जनाएको छ ।