२ माघ , काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा पुस १२ गतेदेखि देखिएको दादुरा संक्रमण तीव्र बन्दै गएको छ ।
उपमहानगरका २३ वडामध्ये आइतबारसम्म १५ वडामा संक्रमण फैलिएको छ भने संक्रमित बालबालिकाको संख्या १८८ पुगेको छ । नेपालगञ्जमा शनिबार एकैदिन २० जना र आइतबार १२ जना संक्रमित थपिएका थिए ।
१५ वडामध्ये ४, ५, ६, ९ र १२ नम्बर वडामा २० भन्दा बढी संक्रमित छन् भने ४ नम्बर वडामा ३१ महिने एक बालकको मृत्यु भएको थियो । नेपालगञ्ज उपमहानगरपालिकाको तथ्यांक अनुसार हालसम्म संक्रमित १८८ मध्ये १३१ जना निको भएको र ५७ जना अझै होम आइसोलेसनमा रहेको छ । पूर्ण खोप जिल्ला घोषणा गरिएको बाँकेमा दादुरा आउटब्रेक भएपछि नेपालगञ्जमा खोप कार्यक्रमलाई तीव्रता दिइएको छ ।