हत्या आरोपी संसद आउँछन्-जान्छन्, तर पक्राउ गर्न डराए गृहमन्त्री लामिछाने ! -
Comments Add Comment

हत्या आरोपी संसद आउँछन्-जान्छन्, तर पक्राउ गर्न डराए गृहमन्त्री लामिछाने !

६ माघ , काठमाडौ । घाइते अवस्थामा अस्पताल तर्फ जाँदै गरेका सशस्त्र प्रहरीका असई थमन विकलाई एम्बुलेन्सबाटै थुतेर राजनीतिको आवरणमा एउटा आपराधिक समूहले पाशविक हत्या गर्यो । युद्धमा पनि घाइतेलाई नियन्त्रणमा लिएर मारिँदैन ।

मर्न र मार्नकै लागि हुने युद्धमा पनि जे गरिँदैन थियो, २०७२ सालमा महोत्तरीमा एउटा समूहले त्यही गर्यो । थमन विकलाई जनकपुरतर्फ लगिँदै थियो । उनी घाइते थिए । बोल्न सक्ने अवस्थामा थिएनन् । प्रतिकार गर्ने त झनै अवस्था थिएन । एक निरिह सिपाईले मधेसी मोर्चाका कार्यकर्ता कसैको पनि केही बिगारिदिएका थिएनन् ।

घरमा श्रीमती, बुढी भएकी आमा र तीन वर्षका छोरा थिए । त्यही सानो परिवारका लागि उनी सशस्त्र प्रहरीमा जागिरे थिए । उनी मोर्चाका कार्यकर्तासँग मुठभेड गर्न गएका पनि थिएनन् । सुरुमा पनि उनलाई मोर्चाका कार्यकर्ताले नै घाइते बनाए । घाइते अवस्थामा उपचार गर्न जनकपुर तर्फ लैजाने क्रममा उनलाई एम्बुलेन्सबाट थुतेर खेतमा लगेर २८ जनाको समूहले भाटै भाटाले हिकाएर मारे । तर यसलाई नेपालमा राजनीति भन्ने गरिन्छ । एक सामान्य प्रहरीलाई हत्या गर्ने मध्ये कोही मेयर भए, कोही सांसद भए, कोही मन्त्री पनि भए ।

एक जना आरोपी छन् – लक्ष्मी महतो, जो प्रतिनिधिसभामा सांसद भएका छन् । तर अदालतले पक्राउ गरेर थुन्नु भन्ने आदेश दिएको छ । तर नेपाल प्रहरीले उनलाई थुनेको छैन । पक्रेको छैन । आखिर किन ? अब त संसदमा समेत उनलाई पक्राउ किन नगरिएको भन्दै कांग्रेसका सांसदहरुले प्रश्न गरिरहेका छन् । स्मरणीय के छ भने कांग्रेसकै गृहमन्त्री हुँदा पनि लक्ष्मी महतोलाई पक्राउ गरिएको चाहिँ थिएन ।

सशस्त्र प्रहरी बलका सहायक निरिक्षक असई थमन बिकको हत्या अभियोगमा अदालतबाट पक्राउ आदेश जारी भइ हाल फरार रहेका सांसद लक्ष्मी महतो कोइरी पक्राउ नपर्दा सरकारमाथि दबाब बढ्न थालेको छ । नेकपा एमालेको तर्फबाट महोत्तरी १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका महतोलाई थुनामै राखेर मुद्दा पुर्पक्ष गर्न जनकपुर उच्च अदालतले ७७ असोज १९ मा आदेश दिएको थियो । सो आदेशपछि महतोलाई एमालेले सांसदको टिकट दियो र उनले नेकपा माओवादी केन्द्रका उम्मेदवार गिरिराजमणि पोख्रेललाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए ।

अदालतको आदेशबमोजिम थुनामा राखेर मुद्दा पुर्पक्ष गर्नु पर्ने अभियुक्तले सांसदका रुपमा पुस ७ मा शपथ लिएका थिए । प्रधानमन्त्रीलाई विश्वासको मत दिन पनि सांसद महतो पुस २६ मा संसद पुगे । बिहीबारको संसद बैठकमा पनि उनी संसदमै रहेको दावी गर्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उनी पक्राउ नपर्नुको कारणबारे प्रश्न उठाए ।

सांसद खतिवडाको प्रश्नको जवाफ गृहमन्त्री रवि लामिछानेले दिएका छन् । उनले फरार सांसद लक्ष्मी महतोको नाम नलिइ नै विधि र पद्धति पालना गर्दै गृहमन्त्रालयले काम गर्ने बताए । यसअघि उनले सांसद महतोलाई पक्राउ गर्न निर्देशन दिएको विषय बाहिरिएको थियो ।

न्याय पर्खिरहेको – विक परिवार

घाइते अवस्थाका असई थमन विकको हत्याको सात वर्ष पूरा भइसकेको छ । यो सात वर्षमा न्यायका लागि विकको परिवारले केही संघर्ष पनि ग¥यो । तर थमनको मृत्युको पीडा सहन नसकेर उनकी पत्नी शोभा गहतराज विकले मानसिक सन्तुलन गुमाइन । आफन्तहरुले भारतको लखनउसम्म पु¥याएर उनको उपचार गरे । अहिले पनि उनी औषधिकै सहारामा जीवन धानिरहेकी छिन् । एक छोरा अहिले १२ वर्षका भए भने आमा सहित थमनको परिवारका तीन सदस्य नेपालगञ्ज १९ को शान्तिनगरमा बसोबास गर्छन् ।

के हो सांसद महतो मुछिएको हत्या प्रकरण ?

७२ सालमा मधेसी मोर्चाले आह्वान गरेको आन्दोलन तराई–मधेसमा चलिरहेको थियो । भदौ २५ मा मोर्चाका कार्यकर्ताहरुले सशस्त्र प्रहरी बलका असई थमन बिकलाई आक्रमण गरेर गम्भीर घाइते बनाइ सकेका थिए । जिल्ला अस्पताल महोत्तरीबाट थप उपचारका लागि जनकपुरस्थित अञ्चल अस्पताल लैजाने क्रममा मोर्चा कार्यकर्ताहरुले बाटोमै एम्बुलेन्सलाई रोके ।
महोत्तरीको अनैठा गाउँमा आन्दोलनकारीले एम्बुलेन्समा घाइते अवस्थामा रहेका विकलाई थुतेर खेतमा पु¥याए । र कुटेरै मारे । एम्बुलेन्सका चालक र थमनको सहयोगीका रुपमा पठाइएका सशस्त्र प्रहरीका जवान ज्यान जोगाउँदै भागे । भाग्न नसक्ने अवस्थाका घाइतेलाई धेरै जनाले खेतमा लगेर भाटैभाटाले हिर्काएर हत्या गरे ।

घाइते असईको हत्यामा संलग्न भएको दावी गर्दै महोत्तरी प्रहरीले २८ जनाविरुद्ध मुद्दा तयार पा¥यो । जिल्ला अदालत महोत्तरीले पवन कापड, सञ्जय साह, प्रदीप साहलगायतलाई पुर्पक्षकालागि कारागार पठायो । अभिराम शर्मा, रामशंकर मिश्र, सुरेश पाण्डे, लक्ष्मी महतोलगायत जिल्लामा मुद्दा विचाराधीन भएकै अवस्थामा राजनीतिमा सक्रिय भए । यहि बीच अभिराम शर्मा मधेस प्रदेशको अघिल्लो कार्यकालमा सांसद तथा सामाजिक विकास राज्यमन्त्री बने । रामशंकर मिश्र जलेश्वर नगरपालिकाको मेयर बने । सुरेश पाण्डे राष्ट्रिय जनता पार्टी नेपालको महासचिव भए । कौशलकुमार यादव पनि मधेस प्रदेशका सांसद बने ।

लक्ष्मी महतोलाई चाहिँ महोत्तरी जिल्ला अदालतले १ लाख धरौटी लिएर छाडेको थियो । घटनामा मुछिएका २८ जना मध्ये धेरै जसोले मुद्दा बुझेनन् । उनीहरु अहिले पनि प्रहरीको फरार सूचीमा छन् । जिल्ला अदालतले अभिराम शर्मा, रामशंकर मिश्र, सुरेश पाण्डे, कौशलकुमार यादवआदिलाई सजिलै छाड्ने आदेश गरेको भन्दै उच्च अदालत जनकपुरमा पुनरावेदन प¥यो । उच्च अदालत जनकपुरले ७५ साउन १५ मा फरार प्रतिवादी सबैलाई पक्राउ गर्नू भन्ने आदेश दियो । ७७ मंसिर १९ गते धरौटी राखेर छुटेका लक्ष्मी महतोलाई पनि थुनामै राखेर मुद्दा पुर्पक्ष गर्नू भन्ने आदेश जारी भयो ।

यो आदेश जारी भए यता माओवादीबाट रामबहादुर थापा गृहमन्त्री रहे । त्यसपछि कांग्रेसका बालकृष्ण खाँड पनि गृहमन्त्री बने तर महतो पक्राउ परेनन् । अहिले रास्वपाबाट रवि लामिछाने गृहमन्त्री छन् । नयाँ गृहमन्त्री रवि लामिछानले बिना आग्रह पूर्वाग्रह कानुनको पालना गरिने प्रतिबद्धता पटक पटक दोहो¥याएका छन् । तर एमालेबाट सांसद बनेका महतो संसद भवनमै प्रवेश गरेर बैठकमा भाग लिइरहेका छन् । त्यही बैठकमा रहेका गृहमन्त्रीले समेत अभियुक्त महतोलाई नदेखेको भन्दै आलोचना भइरहेको छ ।

प्रहरीको भूमिकामा शंका, काम गर्नेभन्दा पन्छाउने प्रवृत्ति

फरार अभियुक्त सांसद महतोलाई पक्राउ नगरिएको भन्ने विषयमा प्रश्न उठ्न थालेपछि गृहमन्त्री रवि लामिछाने आफैंले उनलाई पक्राउ गर्न निर्देशन दिएको विषय बाहिरिएको थियो । तर पनि महतो पक्राउ परेनन् । उनलाई पक्राउका लागि सहयोग गर्न आग्रह गर्दै प्रहरी प्रधान कार्यालयले संसद सचिवालयलाई समेत पत्राचार गरेको थियो । तर संसद सचिवालयले पक्राउ गर्न सहयोग नगरेको जस्तो देखाएर प्रहरी पन्छिएको छ । किनभने सांसद संसद भवनमा जाने भनेको केही घण्टाका लागि मात्रै हो । अरु समय बाहिरै हुने महतोलाई पक्राउ नगरेर प्रहरीले संसद सचिवालयलाई काम पन्छाएको जस्तो देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment


This will close in 20 seconds