काठमाडौं / जिल्ला प्रहरी परिसर टेकु, काठमाडौंले होली पर्व (फागु पूर्णिमा) सुरक्षित र व्यवस्थित ढङ्गले मनाउनका लागि भोलि फागुन २२ गते सोमबारलाई काठमाडौँ उपत्यका लक्षित ‘विशेष सुरक्षा योजना’ जारी गरिएको छ ।
होलीका नाममा अश्लील, उच्छृङ्खल र अप्रिय गतिविधि हुन नदिन जिल्ला प्रहरी परिसर काठमाडौंले उपत्यकामा तीन हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले बताएका छन् ।

एसएसपी दानबहादुर कार्कीले आफू मातहतका प्रहरी वृत्त तथा प्रभाग प्रमुखहरुलाई होली सुरक्षा व्यवस्था बलियो बनाउन निर्देशन दिएको बताए । रङ र अबिरका साथ एकापसमा खुसियाली साटासाट गरी हर्षोल्लासमय वातावरणमा मनाइने होली पर्वका नाममा उच्छृङ्खल र अराजक गतिविधि हुन नदिन सुरक्षा योजना लागू गरिएको जानकारी उनले दिए ।
जथाभावी लोला हान्ने, पानी छ्याप्ने, ट्राफिक नियमको पालना नगर्ने, मदिरा सेवन (मापसे) गरी सवारी चलाउने, झैझगडा गर्ने र महिलामाथि दुव्र्यवहार गर्नेमाथि कडा कारबाही हुनेछ । यसका लागि सुरक्षा व्यवस्था बलियो पारिएको छ । सादा पोसाकका प्रहरीसहितको टोलीले नियमित चेकिङ गर्ने छन् ।

इच्छा विपरीत रङ्ग वा लोला हानेमा पक्राउ गरेर मुद्दा चलाउने समेत एसएसपी दानबहादुर कार्कीले बताएका छन् । होलीलाई व्यवस्थित र सभ्य बनाउन सादा पोशाकका प्रहरी समेत परिचालन गर्ने योजना रहेको छ ।
अभद्र तरिकाले होली खेलिएको पाइए कारबाही हुनेछ । यस्तै, कसैले इच्छा विपरीत रङ्ग लगाए, लोला हाने वा फोहर पानी र विभिन्न केमिकल मिसिएको पदार्थ लगाइदिएमा पनि उजुरी गर्न प्रहरीले आग्रह गरेको छ ।



