Comments Add Comment

Advertisment

SKIP THIS

घिमिरे परिवारका ३ छोरी पहिलो प्रयासमै सरकारी शिक्षकमा पास : ज्वाइँको बढुवा

२ वैशाख , काठमाडौ । लोक सेवा आयो होस् या शिक्षक सेवा आयोग । धेरैले पटक–पटक परीक्षा लेखेपछि मात्रै आफ्नो नाम निकाल्छन् ।

मेहनत पनि धेरै गर्नुपर्छ । सरकारी जागिर खानका लागि एकैपटक भएन भनेर हरेश खान नहुने अनुभवीहरू बताउँछन् । तर एकैपटक तेह्रथुमका घिमिरे परिवारका ३ छोरीहरूले शिक्षक सेवा परीक्षामा नाम निकालेर सरकारी शिक्षक बनेका छन् ।

तेह्रथुमको फेदाव गाउँपालिकाका गीता, सीता र देवकाले एकैपटक परीक्षा दिएर नाम निकालेका छन् । गीता र सीता विवाहित हुन् भने देवकाको विवाह भएको छैन । गीता र सीता करारमा शिक्षण पेशामै आबद्ध थिए भने देवका शिक्षण पेशामा पनि थिइनन् ।

गीता कालिचोक आधारभूत विद्यालयमा पढाइरहेकी थिइन् भने इन्द्रेणी आधारभूत विद्यालयमा सीताले पढाउने गरेकी थिइन् । गीता र सीताका पति पनि शिक्षक नै हुन् । गीताका पति डम्बर तिम्सिना र सीताका पति चन्द्रप्रकाश भट्टराई पनि शिक्षण पेशामा छन् ।

अर्को रोचक कुरा त के छ भने घिमिरे परिवारका ज्वाइँहरू पनि यसैपटक बढुवा भएका छन् । डम्बरले निमावि द्वितीयको बढुवामा नाम निकालेका छन् भने चन्द्रप्रकाशले माध्यमिकतर्फ सामाजिक शिक्षकमा यसै वर्ष नाम निकालेका छन् । डम्बरका भाइ सोम पनि सरकारी शिक्षक नै हुन् ।

घिमिरे परिवार सामान्य किसान परिवार हो । बुवाआमा अहिले पनि खेतीपातीकै काम गर्छन् । तीनै जना दिदीबहिनीले शंकर माध्यमिक विद्यालय जलजलेबाट एसएलसी पास गरेका थिए । तीनै जनाले म्याङ्लुङ क्याम्पस तेह्रथुमबाट बीएडसम्मको अध्ययन सकेका हुन् भने स्नातकोत्तर तहको अध्ययन गरिरहेका छन् ।

खेतीपाती गरेर पढाएका छोरीलाई सरकारी शिक्षक बनाउने बुवाआमाको सपना पूरा भएको छ । बिहान–साँझ घामपानी नभनी खेतबारीमा काम गरेर बुवा हर्कप्रसाद र आमा निशिकलाले छोरीहरूलाई पठाएका थिए । उनीहरूको सपना तीनै जना छोरीहरूले पूरा गरिदिएका छन् । सानैदेखि ३ जना छोरीहरूलाई शिक्षक भएको हेर्ने मन भएको बुवाआमाले भन्ने गरेको र अहिले सपना पूरा भएको गीताले बताइन् ।

शिक्षालाई सीपमूलक र व्यावहारिक बनाउने दिदीबहिनीहरू बताउँछन् । घोकन्ते विद्याभन्दा पनि प्रविधिमा पनि जोड दिएर पढाउने उनीहरू बताउँछन् ।

सामुदायिक विद्यालयप्रतिको वितृष्णा तोड्ने प्रयासमा लाग्ने गीताले बताइन् । सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरू पनि कमजोर छैनन् भन्ने उदाहरण दिने गरी काम गर्ने दिदीबहिनीको अठोट छ ।

गाउँघरमा अहिले पनि ‘तिहुन राम्रो तरकारी, जागिरमा राम्रो सरकारी’ भन्ने भनाइ छँदैछ । यही भनाइलाई आधार मान्ने हो भने पनि अहिले सरकारी जागिरप्रतिको मोह उस्तै छ । आफूहरू सामुदायिक विद्यालयमा जागिर मात्रै नखाने बताउँछन् । मिसहरू जस्तो शिक्षक भए सामुदायिक विद्यालय सुधार्नका लागि धेरै समय नलाग्ने भन्ने अभिभावक र विद्यार्थीको मुखबाट सुन्ने गरी पढाउने उनीहरू बताउँछन् ।

‘हामी आफ्नो भविष्य सुरक्षित गर्न मात्रै शिक्षक सेवामा आएका होइनौं,’ सीताले भनिन्, ‘देशको भविष्यका कर्णधार भनेर चिनिने बालबालिकाको भविष्य सुरक्षित गर्ने गरी पढाउँछौं ।’ नयाँ पाठ्यक्रमलाई ध्यान दिए पठनपाठनमा कुनै समस्या नहुने सीताले बताइन् ।

वैज्ञानिक तथा आधुनिक विद्यालयमा जोड दिने दिदीबहिनीको अठोट छ । विद्यालयलाई केही दिनेभन्दा त्यहाँबाट केही लिने निहीत र तुच्छ स्वार्थ आफूहरूसँग नभएको गीताले बताइन् । धेरै शिक्षकहरू ‘फ्रेस’ आएकाले पनि शिक्षामा सुधार आउने विश्वास समेत गर्न थालिएको छ ।

शिक्षाविद्हरूले नेपालको शिक्षा प्रणालीमा सुधार हुन नसक्दा शिक्षण पेशामा आकर्षण घट्दै गएको बताइरहेका बेला नयाँ शिक्षक युवाहरू आउनुले पनि शिक्षामा सुधार आउने शिक्षा क्षेत्रका जानकारहरूको बुझाइ छ ।

विद्यालय स्तरको शिक्षाले तत्काललाई मात्रै नभई एउटा युगको भविष्य बोक्ने भएकाले भविष्य बोकेका बालबालिकालाई निराश बनाउन नदिने गरी काम गर्ने गीताले बताइन् । तीनै जना विद्यालयको पढाइमा समेत अब्बल थिए । अब उनीहरू विद्यालयमा अब्बल भएको पढाइलाई कार्यान्वयन गर्ने थलोमा पुगेका छन् । स्रोत : लोकान्तर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment