काठमाडौं – सिराहाको दक्षिणी सीमावर्ती औरही गाउँपालिका-३ खजनपुर घर भएका मिटरब्याजी ४५ वर्षीय रामबाबु यादवलाई प्रहरीले ठगी गरेको जाहेरीको आधारमा पक्राउ गरी मुद्दा चलाएको छ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार नाम नखुलाइएकी पीडित महिलाले आफू ठगिएको ब्यहोराको जाहेरी दिएपछि यादवलाई सोमबार पक्राउ गरी त्यही दिन सिराहा जिल्ला अदालतबाट ठगी मुद्दाको अनसन्धानका लागि सात दिनको म्याद लिइएको छ।

मिटरब्याजसम्बन्धी अपराध नियन्त्रण गर्न गत २७ साउनमा तत्कालीन सरकारले कार्यदल गठन गरेलगत्तै जिल्ला तहमा जिल्ला प्रशासन कार्यालयमा पीडितहरूले बुझाएको निवेदनअनुसार मिटरब्याजीमाथि कारबाही नभएको भन्ने गुनासो बढिरहेका वेला प्रहरीले जिल्लामा पहिलोपटक पक्राउ गरी मुद्दा चलाएको हो।
स्थानीय महिलाले घर व्यवहारका लागि यादवसँग लिएको तीन लाख रुपैयाँको नौ लाख रुपैयाँको कपाली तमसुक र पाँच धुर जग्गासमेत आफ्नी श्रीमती इन्द्रा यादवको नाममा रजिस्ट्रेसन गराएको पाइएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए।
‘पीडित महिलाले रकम लिएको केही समयपछि ऋणको साँवा ब्याज चुक्ता गरेपछि कपाली तमसुक र जग्गा फिर्ता गर्न भनिरहेकी रहिछन्,’ उनले भने ‘आजभोलि भन्दै आलटाल गर्दै गत १५ फागुनमा जहाँ जान्छौ जाऊ, फिर्ता गर्दिनँ भन्ने जवाफ दिएपछि प्रहरीमा ठगीको जाहेरी परेको हो।’
आफूले लिएको ऋणको साँवा ब्याजसहित चुक्ता गर्दा पनि कपाली तमसुक र जग्गा फिर्ता नगरी ठगी गरेको आरोपसहित प्रहरीमा जाहेरी परेको र त्यसकै आधारमा पक्राउ गरी ठगीसम्बन्धी मुद्दा चलाइएको प्रहरीले जनाएको छ। प्रहरीले यादवविरुद्ध लगाइएको आरोपको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।


