सुनसरीको धरानस्थित दुई छुट्टाछुट्टै स्थानबाट दुई थान पेस्तोलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१७ डाँडा घोपाका २९ बर्षीय हुकमेन जिमी, उनका भाई २४ बर्षीय दिपक जिमी र धरान–१५ का २४ बर्षीय रोहित राई रहेका छन् ।
बिशेष सुचनाको आधारमा बैशाख ३१ गते राति कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको आरआइटी समुह र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

जिमी दाजुभाईलाई घरको कोठाबाट नियन्त्रणमा लिएर सोधपुछको क्रममा हुकमेन जिमीले २ थान पेस्तोल खरिद गरी ल्याएकोमा १ थान दिपक जिमीलाई र १ थान रोहित राईलाई दिएको भनि बताएका थिए ।
सोही आधारमा प्रहरीले सर्दुखोला नजिकको झाडीमा झोलामा लुकाएर राखेको नचल्ने अवस्थामा रहेको १ थान पेस्तोल बरामद गरेको हो ।
सोही राति राईको घरकोठा खानतलासी गर्दा पलङको डसना मुनी लुकाएर राखेको अवस्थामा म्याग्जिनसहितको मेड इन इटाली लेखेको १ थान पेस्तोल सहित राईलाई पक्राउ गरेको हो ।
दुई वटा पेस्तोलसहित पक्राउ परेका तीनैविरुद्ध इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसान्धान भइरहेको छ ।







