सुनसरी । महिलालाई सामूहिक बलात्कारपछि हत्या गरी फरार रहेका दुई अभियुक्तलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ ।
सुनसरीको धरानमा १६ वर्षअघि भएको सामूहिक बलात्कारपछि हत्याको घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
२०६४ साल मंसिर २३ गते धर्मशालाको कोठामा विभत्स अवस्थामा मृत भेटिएकी महिलाको बलात्कारपछि हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय धरानले १६ वर्षपछि आरोपीलाई पक्राउ गरेको डिएसपी नवराज मल्लले बताए ।
उनका अनुसार धनकुटा शहिदभूमी गाउँपालिका– १ धापका ५६ वर्षीय चन्द्रबहादुर राई र सोही स्थानका ४४ वर्षीय कल्पन राई पक्राउ परका हुन् । घटना हुँदा चन्द्रबहादुर ४० र कल्पन २८ वर्षका थिए । दुवैले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको उनले बताए ।

२०६४ साल मंसिर २३ गते बेलुका तत्कालिन धरान नगरपालिका– ५ (हाल धरान १२) मा रहेको बलभद्रेश्वर अरुणोदय धर्मशालाको कोठा नम्बर २१८ मा २५ वर्षीय ललिता राईको शव विभत्स अवस्थामा फेला परेको थियो । धरान– १० बेलगाछी बस्ने उनको शव सडेको अवस्थामा फेला थियो ।
घटनापछि मुस्किलले मृतकको पहिचान गरेको प्रहरीले आरोपीलाई पक्राउ गर्न सकेको थिएन् । आरोपीको स्पष्ट क्लु नभेटेको र किटानी जाहेरी पनि नपरेपछि घटनाको फाइल थन्किएको थियो ।
करिब दुई महिनाअघि फाइल खोलेर अनुसन्धान सुरु गरेको प्रहरीले बलात्कारपछि हत्यामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको हो । ‘पेन्डिङ फाइला खोल्ने डिआइजी र एसपी सापको निर्देशन अनुसार यो फाइल खोलेका थियौं,’ तीन महिनाअघि धरान हाजिर भएका डिएसपी मल्लले भने,‘ पुरानो फाइल खोलेर अनुसन्धान गर्दा आरोपीसम्म पुग्यौं ।’
प्रहरीका अनुसार पक्राउ परेका दुवै जना साथी हुन् । सिसिल अध्ययन गरी विगतमा रोकिएको स्थानबाट अनुसन्धान सुरु गरेको प्रहरी शंकास्पद व्यक्ती खोज्दै धनकुटा पुगेको थियो । सुरुमा चन्द्रबहादुरलाई पक्राउ गरेको प्रहरीले लगतै कल्पनलाई पनि पक्राउ गरेको हो ।
प्रहरीका अनुसार ललिता श्रीमानसँग सम्बन्ध विग्रिएपछि माइतमा बस्दै आएकी थिइन् । उनको प्रेम सम्बन्ध चन्द्रबहादुरसँग थियो । महिलालाई चन्द्रबहादुरले २०६४ मंसिर १९ गते धर्मशालामा बोलाएका थिए । महिलालाई लगेपछि उनले आफ्ना साथी कल्पन राईलाई पनि बोलाएर करणी गरेका थिए ।
प्रहरीका अनुसार धर्मशालामा दुई वटा कोठा बुक गरेर एउटामा चन्द्रबहादुर र ललिता र अर्काेमा कल्पन बसेका थिए । चन्द्रबहादुरले कल्पनलाई कोठामा बोलाएपछि दुवै जनाले पालैपालो करणी गरे । महिलाले प्रतिकार गरेपछि पोल खुल्ने डरले घाटी थिचेर हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।
हत्यापछि कोठामा नै शव छाडेर उनीहरु फरार भएका थिए । डिएसपी मल्लका अनुसार त्यसबेला चन्द्रबहादुर संकाको घेरामा थिए । तर पक्राउ परेका थिएनन् । उनी भागेर भारत गएर बसेको देखिएको डिएसपी मल्लले बताए । शंकास्पद नदेखिएका कारण कल्पन भने भागेको नदेखिएको उनले बताए ।
लामो समय भारतको सिक्किमा बसेका चन्द्रबहादुर केही वर्षअघि मात्रै घर फर्किएको प्रहरीले बताएको छ । ‘ फाइल थन्किएको थियो, पटक पटक मृतकका आफन्तलाई बोलाएर सोधीखोजी गर्र्याैं,’उनले भने ।






