काठमाडौं : नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसको अवसर तथा १६ औं गणतन्त्र दिवसको सन्दर्भमा आयोजित सञ्चारकर्मीहरूबीचको खुल्ला दौड प्रतियोगितामा पत्रकार हरि अधिकारी प्रथम भएका छन् ।
विराटनगरस्थित जनआन्दोलनचोकदेखि बरगाछीचोकसम्मको दूरी पार गर्दै अनलाइनखबरमा कार्यरत अधिकारी प्रथम भएका हुन् । उनले नगद ७ हजार र प्रमाणपत्र प्राप्त गरे ।
त्यसैगरी पत्रकार नवराज कट्टेल द्वितीय हुँदै नगद ४ हजार ५ सय रुपैयाँ र प्रमाणपत्र प्राप्त गरे । पत्रकार देवराज तामाङ तृतीय हुँदा नविन भट्टराई र पवनकुमार साहले सान्त्वना स्थान हाँसिल गरे ।
तृतीय हुने तामाङले ३ हजार ५ सय पाउँदा सान्त्वना हुने दुवैजनाले जनही ३ हजार पाए । पुरस्कृतहरूलाई कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालासहित प्रेस युनियनका केन्द्रीय उपमहासचिव अभयकुमार राई, कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदित, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष लीलावल्लभ घिमिरे, मोरङ अध्यक्ष संजीव खनाल, कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोला, नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका उपाध्यक्ष अनिल साहलगायतले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले पत्रकारहरूबीचको दौड प्रतियोगिताले स्वयम पत्रकारहरूमा स्वास्थ्यप्रति सचेत र जिम्मेवार हुन सन्देश दिने बताए ।
उनले जनतालाई सुसूचित बनाउन सधैं रहने पत्रकारहरू आफ्नो स्वास्थ्यप्रति सचेत हुनुपर्नेमा जोड दिए । आयोजक संस्थाका अध्यक्ष मीनकुमार नवोदितले सञ्चारकर्मीहरूबीच एकता कायम गर्दै स्वास्थ्यका लागि खेलकुद, सक्रिय पत्रकारिताका लागि स्वस्थ शरीर भन्ने नाराका साथ दौड प्रतियोगिता आयोजना गरिएको बताए ।
सबै पत्रकार स्वस्थ हुन शारीरिक व्यायाम जरुरी रहेको उनको भनाइ थियो । दौड प्रतियोगिता गरेर पत्रकारलाई आफ्नो स्वास्थ्यप्रति जिम्मेवार हुन सन्देश दिएको अध्यक्ष नवोदितले बताए ।


