
काठमाडौँ । जापान पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ बस्ने ५५ वर्षीय सुनबहादुर तामाङ रहेका छन् ।
तामाङले हिरादेवी थापालाई वैदेशिक रोजगारीका लागि जापान पठाइदिन्छु, त्यहाँ मासिक १ लाख रुपैयाँभन्दा बढी तलब हुने कृषि क्षेत्रमा काम लगाइदिन्छु भन्दै १२ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए ।
तामाङलाई वैदेशिक रोजगार विभागको आग्रहमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पक्राउ गरेको थियो । तामाङलाई पक्राउ गरी विभागको कार्यालयमा पठाइएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।