८ असार ,काठमाडौ । एटलान्टिक महासागरमा टाइटानिक जहाजको भग्नावशेष हेर्न पनडुब्बी जहाजमा गएका पाँचै जनाको मृत्यु भएको छ ।

उक्त पनडुब्बीमा विनाशकारी आन्तरिक विस्फोट भएको र यसका पाँचवटा टुक्रा टाइट्यानिक जहाजको भग्नावशेषभन्दा करिब १६ हजार फिट टाढा फेला परेको खोजीकार्यमा संलग्न अमेरिकी तटरक्षक बलका कमान्डर जोन मागरले जनाएका छन् ।

भेटिएको भग्नावशेष विपत्तिजनक विस्फोटसँग मिल्दोजुल्दो रहेको जनाइएको छ । एक शताब्दीअघि दुर्घटना भएको विश्वचर्चित जहाज टाइट्यानिकको भग्नावशेष हेर्न पाँच पर्यटक सवार उक्त पनडुब्बीले यही आइतबार क्यानाडाको तटबाट एटलान्टिक महासागरमा साढे १२ हजार फिटमुनि डुबुल्की मारेको थियो ।

डाइभ हानेको करिब पौने दुई घण्टापछि उक्त पनडुब्बीको सम्पर्क समुद्रको सतहमा रहेको पानीजहाजसँग टुटेको थियो ।

त्यसयता अमेरिका, क्यानाडा र फ्रान्सका जहाज त्यसको खोजीमा जुटेका थिए । उक्त पनडुब्बीमा पाकिस्तानीमूलका बेलायती अर्बपति व्यवसायी र उनका छोरा, अर्का बेलायती अर्बपति अन्वेषक, फ्रान्सेली नौसेनाका पूर्वगोताखोर र उक्त भ्रमणको आयोजक कम्पनी ओसियन गेटका प्रमुख कार्यकारी अधिकृत गरी पाँचजना यात्रारत थिए ।

टाइटानिक जहाज सन् १९१२ को अप्रिलमा आफ्नो पहिलो यात्रामै आइसबर्गमा ठोक्किएपछि डुबेको थियो ।

त्यस बेला जहाजमा रहेका २२ सय जनामध्ये छ सय सात जनामात्रै बाँचेका थिए । समुद्रमा डुबेको जहाजको भग्नावशेष सन् १९८५ मा पत्ता लागेको थियो । टाइट्यानिक दुर्घटनाको विषयवस्तुमा आधारित डेढ दर्जन सिनेमा र थुप्रै डकुमेन्ट्री बनेका छन् ।

सन् १९९७ मा रिलिज भएको प्रेम प्रसंगयुक्त साहसिक चलचित्र टाइट्यानिकले ११ विधामा ओस्कर अवार्ड जितेको थियो ।