१९ असार , काठमाडौ । काठमाडौं महानगरपालिकाले फिल्म हल र क्यासिनाको टिकट डिजिटल गर्न निर्देशन दिएको छ । १७ वटा सिनेमा हल र ६ वटा क्यासिनोलाई प्रवेश शुल्क वापतको टिकट डिजिटल प्रणालीमा लैजान महानगरले निर्देशन दिएको हो ।
मंगलबार महानगरको राजस्व विभागले पत्र लेख्दै भनेको छ, ‘मनोरञ्जन करका करदाताले डिजिटल प्रणालीबाट प्रवेश शुल्क संकलन गरेको भए तीन दिन भित्र र डिजिटल प्रणाली सञ्चालनमा नआएको भए ३० दिन भित्र प्रवेश शुल्क डिजिटल प्रणाली सञ्चालनमा ल्याउनुपर्ने छ ।’ पत्रअनुसार डिजिटल प्रणाली महानगरको राजस्व विभागलाई पहुँच गराउन निर्देशन दिएको छ ।
बागमती प्रदेश सरकारले मनोरञ्जन कर चलचित्र घर, सांस्कृतिक प्रदर्शन हल, कन्सर्ट, थियटर,नाटकघर, फनपार्क, वाटर गार्डेन, बाल उद्यान, दोहोरी साँझ, डान्सबार, क्यासिनो, फुट्सल, जुम्बा, नाइट क्लब, मसाज एवम् स्पा, जिपलाइन, बन्जिजम्प, स्वीमिङ पुल र पार्क लगायतका मनोरञ्जन स्थलमा लगाउने कानुनी व्यवस्था गरेको छ ।
उक्त व्यवस्था बमोजिम चलचित्र घरमा प्रवेश गर्ने प्रति टिकटमा महानगरमा ५ प्रतिशत मनोरञ्जन कर बुझाउनुपर्ने छ ।
यस्तै क्यासिनोमा प्रवेश गर्ने प्रतिव्यक्तिबाट ५० रुपैयाँ मनोरञ्जन कर छुट्याउनुपर्ने छ । फनपार्क, वाटर गार्डेन, बाल उद्यान जस्ता स्थानमा ३ प्रतिशत, दोहोरी साँझ, नाइट क्लब लगायतमा प्रवेश गर्ने टिकटमा ५ प्रतिशत मनोरञ्जन कर महानगरमा बुझाउनुपर्ने व्यवस्था रहेको छ ।







