मोरङ – विराटनगरका रोहित चौधरी हत्याकाण्डमा संलग्न दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ। विराटनगरस्थित प्रदेश प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा चौधरी हत्याकाण्डमा संलग्न दीपक तिम्सिना र अनशन तामाङलाई प्रहरीले सार्वजनिक गरेको हो।
पक्राउ परेका ३५ वर्षीय दिपक तिम्सिना लेटाङ नगरपालिका र ३४ वर्षीय अनशन तामाङ धरान १४ निवासी हुन्। दुवै जना यसअघि पनि विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डीआईजी राजेश बास्तोलाले बताए ।
रोहितलाई सुनसरी धरान–इटहरी सडक खण्डको सेउती पुल नजिकैको जङ्गलमा साउन ५ गते गोली प्रहार गरेका थिए । होहल्ला गर्दै प्रतिकार गरेपछि रोहितलाई लुटेरा समूह मध्येका मुख्य नाइके दीपकले गोली प्रहार गरेको अनुसन्धानबाट खुलेको डिआईजी बास्तोलाले जानकारी दिए ।

‘खुकुरी गर्धनमा र पेस्तोल छातीमा देखाएर रोहितसँग गएकी किशोरीले लगाएको सुनको सिक्री, मोबाइल र लेडिज ब्याग लुटे । त्यसपछि रोहितले होहल्ला गर्दै प्रतिकार गर्न खोजेपछि गोली चलाएको देखिएको छ,’ घटनाको अनुसन्धान गरेको संघीय प्रहरी कार्यालय धरानका एसपी भीम दाहालले भने, ‘रोहित र किशोरी सेउती पुलको जंगल छिरेको १० मिनेट भित्रमा लुटपाट गरी गोली हानेर लुटेरा समूह पानमारा जाने जंगल भागेको देखिएको छ ।’
रोहितको हत्या गर्नुको मुख्य कारण लुटपाट रहेको अनुसन्धानबाट खुलेको उनले बताए । ‘हामीले सबै कोणबाट सुष्म तरिकाले अनुसन्धान गरेका थियौं,’ उनले भने, ‘हत्या गरिनुको कारण लुटपाट नै रहेको देखियो ।’
लुटपाट गरी हत्या गर्ने समूहमा तीन जना रहेको खुलेको छ । अहिले दुई जना पक्राउ परेका छन् । एक जना फरार रहेको डीआईजी बास्तोलाले बताए । पक्राउ परेका समूह यसअघि विभिन्न अपराधमा कैद भुक्तान गरी छुटेका अभियुक्त रहेका छन् ।
पक्राउ परेका दीपक जबरजस्ती करणी मुद्दा १० वर्ष कैद भुक्तान दुई महिना अगाडि छुटेका अभियुक्त हुने भने तामाङ लागुऔषध मुद्दामा ६ महिना कैद भुक्तान गरी २ वर्ष अगाडि छुटेका अभियुक्त हुन् ।
उनीहरू यसअघि पनि विभिन्न चार वटा लुटपाटको घटनामा संलग्न भएको अनुसन्धानबाट खुलेको डीआईजी बास्तोलाले बताए ।



