(ईश्वर दुलाल) – काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुखको रुपमा सरुवा भएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दिपक थापाले पदभार ग्रहण गरेका छन् । एआईजी थापाले पदभार ग्रहण पश्चात उपस्थित प्रहरी कर्मचारीहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन समेत दिएका छन् ।
प्रहरी संगठनमा ‘काबिल’ अधिकृतका रुपमा परिचित थापाले उपत्यकाको कमान्ड सम्हाले सँगै उपत्यकाभित्रको सुरक्षा व्यवस्थाको चुस्तता र आपराधिक क्रियाकलापलाई निमिट्यान्न पार्ने जिम्मेवारीसमेत थपिएको छ ।
प्रहरी संगठनमा राजनीतिक हस्तक्षेपसँगै उपत्यकामा अपराधिक क्रियाकलाप पनि मौलाउँदै गएको अवस्थामा सरकारले उपत्यकाका लागि एआईजी थापालाई खटाएको छ ।
राजधानीमा मौलाएको अपराधलाई निर्मूल पार्ने जिम्मेवारी एआईजी दिपक थापाले पाएका छन् । संगठनको निवर्तमान नेतृत्वका कारण लथालिंगर अस्तव्यस्त भएको संगठनको साख जोगाउने वर्तमान नेतृत्वको अभियानमा साथ दिनेगरी थापाले जिम्मेवारी पाउनु संगठनभित्र कम राजनीतिक हस्तक्षेप र मुलुकको शान्तिसुरक्षाको अवस्थामा सुधारको संकेत पनि हो ।
नेपाल प्रहरीको इतिहासमा उपत्यकाका अपराध महाशाखाको प्रमुख जिम्मेवारी सम्हालेका थापा प्रहरी अधिकृत पनि हुन् । यसैबाट पनि उनको क्षमता, दक्षता अनि कमाण्ड पुष्टी हुन्छ । एआईजी दिपक थापा उपत्यका अपराध महाशाखाको जिम्मेवारी लिई उत्कृष्ट कार्यसम्पादन गरिसकेका उपत्यकाको वस्तुस्थितिबारे पूर्ण जानकार छन् ।
एआईजी थापालाई पछिल्लो समय उपत्यकामा संगठीत रुपमै अवैध जुवा, मिटरब्याज, सहकारीको नियोजित ठगी, संगठित रुपमा सुुन तस्करी, वेश्यावृत्तिको र्याकेट, क्लब र डिस्कोथेकमा दिनहुँ बाउन्सरबाट गेस्टको रामधुलाई, वृत्तका प्रहरी असुलीमा व्यस्त जस्ता संगठीत अपराधको जालो च्यात्न चुनौति पनि देखिएको छ ।