४ असोज, काठमाडौ । जाडो मौसम लागेपछि मानिसहरूका घरघर सिरक डसना बनाउने मानिसहरू कपास फिट्ने मेसिनसहित हिँड्दै आउँथे । हिँडेर, साइकलमा आउने उनीहरू पछिल्लो समय ससाना ढुवानी गर्ने गाडी सहित घरघर पुगेर सिरक डसना निर्माणसहित ढुवानी समेत गर्ने गरेका छन् ।
तर, चितवनमा भने यसरी सिरक डसना बनाउन घरघर हिँड्न नपाइने भएको छ । भरतपुर महानगरपालिका भित्रमा सिरक डसना बनाउने मानिसहरूले सेवा दिन घरघर नजान पालिकाले सार्वजनिक सूचना नै जारी गरेको छ ।
भदौ २७ गते महानगरले जारी गरेको सूचनामा टोल बस्ती, तथा चोक चोकमा माइकिङ गरी घुम्ती सेवा मार्फत सिरक डसना बनाउने सेवा दिन नपाइने जनाएको हो ।
भरतपुर महानगरपालिकाका वरिष्ठ लेखा अधिकृत जगन्नाथ अर्यालले जारी गरेको सडक, डसना निर्माण सम्बन्धी घुम्ती सेवा रोक्ने सूचनामा भनिएको छ( गृह मन्त्रालयको मिति २०७८र७र३० गतेको पत्र, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको २०७८र७र२६ र जिल्ला प्रशासन कार्यालय चितवनको २०७९र६र१३ को पत्र अनुसार ढुवानी साधनमा मेसिनजडित घुम्ती सेवा रोक्न, नियन्त्रण गर्न निर्देशन जारी भएअनुसार महानगर भित्र अर्को सूचना जारी नभएसम्म सेवा दिन रोक लगाइएको छ ।
सूचनामा महानगरपालिकाबाट सिरक डसना निर्माण सम्बन्धी व्यवसाय दर्ता नगरेको वा एक पटक व्यवसाय दर्ता गरेकै आधारमा दर्ता भएको स्थान बाहेक घुम्ती सेवा दिन नपाइने उल्लेख छ । साथै जुन स्थानमा व्यवसाय सञ्चालनको अनुमति छ त्यही स्थानबाट मात्रै सेवा दिएको नपाइए कानून बमोजिम कारबाही गर्ने पनि उल्लेख गरिएको छ ।






