नेपाल आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी-२० विश्वकप २०२४ का लागि छनोट भएको छ।
आइसिसी टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा जित निकालेर फाइनलमा पुगेसँगै नेपाल १० वर्षपछि टी-२० विश्वकपमा छनोट भएको हो।
शुक्रबार मुलपानी मैदानमा भएको सेमिफाइनल भिडन्तमा नेपालले युएईमाथि ८ विकेटको सानदार जित निकाल्यो।
युएईले दिएको १३५ रनको लक्ष्य नेपालले १७.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो।
नेपालको जितमा आसिफ शेखले अर्धशतक प्रहार गरे। आसिफले नटआउट ६३ रन बनाए। उनले ५० बलमा ६ चौका र २ छक्का हिर्काए। रोहित पौडेलले २० बलमा नटआउट ३५ रन बनाए। दुईबीच नटआउट ६८ रनको साझेदारी हुँदा नेपालले सहज जित निकाल्न सफल भएको हो।
ओपनर कुशल भुर्तेल ११ रन बनाएर आउट भए। उनी तेस्रो ओभरको अन्तिम बलमा निलान्स केस्वानीको बलमा मोहमद वासीमबाट क्याच भए। कुशलले आउट हुनुअघि २ चौका हिर्काए।
गुल्सन झा दशौं ओभरमा बासिल हमीदबाट २२ रनमा बोल्ड भए। उनले आउट हुनुअघि २४ बलमा ३ चौका प्रहार गरे।
त्यसअघि शुक्रबार विहान टस जितेर पहिले ब्याटिङ गरेको युएईले ९ विकेटको क्षतिमा १३४ रन जोड्यो।




