काठमाडौं। आर्थिक बर्ष २०८० को कार्यसम्पादन मुल्याङ्कनमा जिल्ला प्रहरी कार्यालय झापा सर्वोत्कृष्ट भएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आयोजना गरेको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापा कोशी प्रदेशकै कार्यसम्पादनमा सर्वोत्कृष्ट भएको घोषण गरेको छ ।
कार्यक्रममा गत आव को कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयनमा प्रथम हुने जिल्ला प्रहरी कार्यालय झापालाई प्रशंसापत्रद्धारा सम्मान समेत गरिएको थियो ।
नेपाल प्रहरी कार्य योजना तथा वार्षिक कार्य सम्पादन सम्झौता, २०८० लाई प्रभावकारी बनाउने उद्देश्य अनुसार कोशी प्रदेशअन्तर्गत रहेका प्रहरी कार्यालयहरूमध्येबाट कार्तिक र मङ्सिर महिनामा जिल्ला प्रहरी कार्यालय झापाले उत्कृष्ट कार्य गरेको हो ।
प्रहरीको वार्षिक कार्य योजना कार्यान्वयन गर्नुपर्ने बुँदागत विषयहरूमा कार्तिक र मङ्सिर महिनासम्म गरेका कार्यहरूको प्रगति विवरण समीक्षा गर्दा प्रहरी कार्यालय झापाले कार्य योजना अनुसार उत्कृष्ट कार्य गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरी कार्यालय झापालाई कोशी प्रदेश प्रहरी प्रमुख तथा डीआइजी राजेशनाथ बास्तोलाले उत्कृष्ट कार्य सम्पादनको बधाईसहित प्रशंसा पत्र प्रदान गरेको छ ।
डीआइजी बास्तोलाले कोशी प्रदेश अन्तरगत रहेका अन्य प्रहरी कार्यालयहरूले समेत कार्य योजना अनुसार प्रहरी कार्य गरिरहेको तथा आगामी दिनमा तीव्रताका साथ निरन्तर रुपमा लागि पर्न निर्देशन समेत दिएका छन् । प्रहरी कार्यालय झापाका प्रमुख एसपी दुर्गाराज रेग्मीले जिल्लाको नेतृत्व गर्दै आएका छन् ।